प्रधानमन्त्रीलाई घेराबन्दी गर्ने विचित्रको अभ्यास, नेकपामा कार्यकारी भन्ने, बराबरी खोज्ने ? (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

प्रधानमन्त्रीलाई घेराबन्दी गर्ने विचित्रको अभ्यास, नेकपामा कार्यकारी भन्ने, बराबरी खोज्ने ? (भिडियोसहित)

सत्तारुढ नेकपा भित्रको पछिल्लो विवाद सचिवालय हुँदै स्थायी कमिटी प्रवेश गरेको छ । दुई पार्टी एकता गरी शक्तिशाली नेकपा बनेपनि दलबाट आफ्नै प्रधानमन्त्रीलाई घेराबन्दी गर्ने काम भैरहेको छ । यसअघि देशमा कार्यकारी अधिकारसहितको प्रमुख चाहिने लाइनमा रहेका नेताहरु नै अहिले बराबरीको भाग खोज्न थालेपछि विवाद अन्त्यहीन बनेको हो ।

गम्भीर आन्तरिक किचलोमा फसेको सत्तारुढ नेकपाको सचिवालय बैठक सहमतितर्फ उन्मुख हुँदै गएको छ । आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध लक्षित गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १९ पृष्ठको लान्छना लगाएपछि सतह मै छताछुल्ल भएको नेकपा विवाद शनिबारको सचिवालय बैठकपछि वार्ता उन्मुख भएको हो । दाहालको लान्छनाप्रति गम्भीर असहमति जनाउँदै अध्यक्ष तथा प्रधानमन्त्री ओलीले ३८ पृष्ठको जवाफी प्रतिउत्तर दिएपछि नेकपाका नेताहरु जुध्नेगरी आमनेसामने भएका थिए । तर, पूर्वानुमान विपरीत अध्यक्षद्वय ओली र दाहालले २६ दिने संवादहिनता तोड्दै आश्चर्यजनक ढंगले वान–टू–वान वार्ता गरेपछि स्थिति साम्य बन्दै गएको छ ।

त्यसो त पूर्व एमाले र पूर्व माओवादी केन्द्रका अध्यक्षको हैसियतमा पार्टीकै वरिष्ठ भनिएका नेताहरुलाई सुइँको समेत नदिइ ओली र दाहालले नेकपा निर्माण गरेका थिए । नेकपा निर्माण गर्दा कर्नरमा परेको कुण्ठा बोकिरहेका नेताहरुले सचिवालयका नाममा दुबै नेतालाई भिडाएर आफ्नो स्वार्थ पूर्ति गर्न खोज्दा नै पार्टी समस्या परिरहेको छ । पार्टी व्यवस्थापन गर्न महाधिवेशनसम्मका लागि भन्दै अप्राकृतिक तवरले दुई अध्यक्षात्मक प्रणाली अपनाएको नेकपामा ओली र दाहाल मिलेर अगाडि बढ्दा पार्टी सहज ढंगले नै अगाडि बढिरहेको थियो । तर सत्ता स्वार्थमा केन्द्रित हुँदै वरिष्ठ भनिएका केही नेताहरुले दुई अध्यक्षलाई फुटाएर आफू अनुकूल प्रयोग गर्न खोजेपछि नेकपा मात्र होइन सरकार नै संकटमा पर्दै आएको छ ।

नयाँ नेपाल निर्माण गर्ने उद्घोषसहित दुई ठूला कम्युनिष्ट पार्टी एक भइ बनेको नेकपा सचिवालय नामधारी नौ नेताको कब्जामा पर्दा पार्टी त तहसनहस भएको छ नै दशौं लाख पार्टीका कार्यकर्ता मात्र होइन जनता समेत दिग्भ्रमित भैरहेका छन् । त्यसैले नेकपा सत्ता नपाएर छट्पटाइरहेका नौ जना नेताको बकौती हो कि लाखौं कार्यकर्ता र जनताको आस्था र विश्वासको धरोधर भन्ने प्रश्न टड्कारो बनिरहेको छ ।

प्रजातन्त्र बहालीपछि सात दशकको इतिहासमा मुलुकमा कहिलेपनि राजनीतिक स्थिरता हुन सकेन । पञ्चायत होस् कि प्रजातन्त्र, या गणतन्त्र, कहिल्यै पनि जनताले ५ वर्षीय शासनको सुखानुभुति गर्न पाएनन् । त्यही भएर जनताले गत आम निर्वाचनमा नेकपालाई झण्डै दुई तिहाई बहुमतको जनादेश दिएका थिए । तर जनमतको अपमान गर्दै नेकपाले आफ्नै प्रधानमन्त्रीलाई चट्पटाउन नदिने गरी नेपाली राजनीतिमा यस्तो हर्कत देखायो कि पार्टी फुटको संघारमा मात्रै पुगेको छैन, सडकमा गणतन्त्र विरोधी नारासमेत लाग्न थालेको छ । अहिले नेकपामा व्यक्ति विशेषको अनुचित आकांक्षाबाहेक पार्टी विवादमा सैद्धान्तिक र राजनीतिक जग देखिएको छैन । सत्तालाई मात्र केन्द्रबिन्दुमा राखेर गरिएको यो विवाद आफैले लिएको मूल्य र मान्यता विपरीत पनि छ ।

किनभने नेकपा बन्नु अघि पूर्व एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्व माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको वकालत गरेका थिए । यो मूल्य मान्यतामा नेकपा अडिग हुन्थ्यो भने आफ्नै प्रधानमन्त्रीमार्फत यो शक्तिशाली प्रधानमन्त्रीको अभ्यास सुरु गर्नुपर्ने थियो । आफ्नै सरकारका प्रधानमन्त्रीलाई घेराबन्दी गरेर विश्वका कुनैपनि मुलुकले विकासको पथमा अघि बढ्न सकेका छैनन् । तर यहाँ विचारमा शक्तिशाली प्रधानमन्त्रीको परिकल्पना गर्ने तर व्यवहारमा सत्तारोहण गर्न नपाएको कुुण्ठा पोखेर सरकारलाई मात्र होइन मुलुकलाई नै बन्धक पार्ने काम भैरहेको छ ।

जेहोस बस्नै नसक्ने अवस्थामा पुगेका नेकपाका शीर्ष नेताहरु एक ठाउँमा बस्ने अवस्था बनेको छ । यो अवस्था क्षणिक नहुने हो भने यसले मुलुकका लागि सही दिशा दिन सक्छ । अब बैठककै लागि बैठकमा अल्झि रहने र अलमलिने बेला पनि छैन । जबसम्म नेकपा प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई विश्वास गरेर बलियो हुने वातावरण बन्दैन तबसम्म न पार्टी बलियो हुन्छ न मुलुकको नै हित हुने अवस्था बन्दछ । सडकमा उठेको नारा र अवस्थालाई हेरेर नेतृत्व गम्भीर हुन आवश्यक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);