महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले विपद्को समयमा नेपाल रेडक्रस सोसाइटीले निर्वाह गरेको भुमिकाको उच्च प्रशंसा गर्नुभएको छ ।
विपद्का समयमा तत्कालै कार्यक्षेत्रमा खटिएर उद्धार तथा राहतमा पु¥याएको योगदानका लागि उहाँले रेडक्रसलाई धन्यवाद ज्ञापन गर्नुभयो । विपद् व्यवस्थापनका सन्दर्भमा मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री वादीले मन्त्रालयले विभिन्न संघसंस्थासँग समन्वय गरी काम गरिरहेको र त्यसमा रेडक्रसको सहयोग प्रभावकारी रहेको बताउनु भयो । मन्त्री वादीले हालको परिस्थितिमा परिवारका सदस्य गुमाएका व्यक्तिहरूलाई मनोसामाजिक परामर्श (काउन्सिलिङ) को आवश्यकता रहेको उल्लेख गर्नुभयो । विशेषगरी अभिभावक गुमाएका बालबालिकाको सुरक्षा र उनीहरू हराउन सक्ने वा जोखिममा पर्न सक्ने सम्भावनाप्रति सचेत रहनुपर्नेमा उहाँले जोड दिनुभयो । विपद्का बेला महिलाहरूमाथि हुनसक्ने हिंसाका घटना न्युनिकरण गर्न र पीडितलाई सुरक्षा प्रदान गर्न मन्त्रालय गम्भीर रहेको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विपद्को शुरुवाती समयदेखि नै जहाँ समस्या छ, त्यहाँ रेडक्रसको टोली पुगेर समस्या समाधानमा खटिएको छ । यस प्रकारको सक्रियता र टिमवर्क आगामी दिनमा पनि जारी रहनेछ भन्ने विश्वास लिएको छु । अभिभावक नभएका बालबालिका र हिंसाको जोखिममा रहेका महिलाहरूको विषयमा रेडक्रसका संयन्त्रहरूले विशेष ध्यान दिन जरुरी छ । यस कार्यमा मन्त्रालयबाट के–कस्तो सहयोग आवश्यक पर्छ, जानकारी गराउनुहोला । हामी सहकार्यका लागि सधैँ तयार छौँ ।’
उहाँले प्रभावित क्षेत्रको अवस्था र पीडितहरूको पहिचान गर्ने कार्य भइरहेको जानकारी दिँदै राज्य र नागरिक समाज मिलेर नै यस्ता समस्याको समाधान निकाल्न सकिने बताउनु भयो ।




