पोखरा ।
पोखरास्थित पद्म नर्सिङ होमलाई १०० शय्याको अनुमति दिने क्रममा ३० लाख रुपैयाँ घुसको ‘डिल’ गरेको आरोप लागेका गण्डकी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र उनका स्वकीय सचिव यादव पौडेलमाथि कारबाही गर्न सिफारिस गरिएको छ ।
नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलद्वारा गठित तीन सदस्यीय छानबिन समितिले अध्ययन प्रतिवेदन तयार गरी संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री खगराज अधिकारी र एमाले गण्डकीका अध्यक्ष नवराज शर्मालाई बुझाएको हो ।
छानबिन समितिकी संयोजक तथा एमाले प्रमुख सचेतक देवका पहारी त्रिपाठीले पूर्वमन्त्री पाण्डे र उनका स्वकीय सचिवले पदीय मर्यादाविपरीत काम गरेको निष्कर्षसहित कारबाही सिफारिस गरिएको बताइन् ।
‘दोष के–कति भन्ने छानबिनले देखाउला, तर उहाँहरूबाट पदीय हिसाबले जे कार्य भए, त्यो गलत भयो भन्ने समितिको निष्कर्ष हो,’ उनले भनिन्, ‘हामीले पार्टी र दलको विधानअनुसार काम भएको छ कि छैन भनेर हेर्यौँ । विधानअनुसार काम नभएको पाइएपछि विधिसम्मत रूपमा कारबाही अघि बढाउन सिफारिस गरेका छौँ ।’
प्रतिवेदनमाथि अब पार्टीको अनुशासन आयोगले अन्तिम निर्णय लिने पहारीले बताइन् । उनका अनुसार कस्तो कारबाही गर्ने भन्ने निर्णय पार्टी विधानमा भएको व्यवस्थाअनुसार हुनेछ ।’पदीय हिसाबले जे कुरा सार्वजनिक भएका छन्, ती सबै कारबाहीको दायराभित्र राख्नुपर्छ भन्ने हाम्रो स्पष्ट ठहर हो,’ उनले भनिन् । प्रतिवेदन यसअघि नै तयार भए पनि संसदीय दलका नेताले समय नदिएका कारण बुझाउन ढिलाइ भएको बताइएको छ ।
This website uses cookies.