महाकाली पारी दोधारा चाँदनीको दुःख कस्ले बुुझ्ला ? | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

महाकाली पारी दोधारा चाँदनीको दुःख कस्ले बुुझ्ला ?

काठमाडौं, २६ वैशाख । वर्षेनी बाढी र डुबानको चपेटामा पर्दै आएको कञ्चनपुरको दोधारा चाँदनीमा सेफ हाउस बन्ने भएको छ ।

कञ्चनपुरको दोधरा चाँदनी नगरपालिकाका अधिकांश बस्तीहरु प्रत्येक वर्ष बाढीले प्रभावित हुने गरेका छन् । विशेषगरि महाकाली नदी र जोगबुढा नदीमा आउने बाढीका कारण वडा नम्बर २,३,४,१० वर्र्षैपिच्छे डुबानमा पर्ने गर्छन् ।

महाकाली नदीमा बाढी आएका बेला जोगबुढा नदी थुनिएर वडानम्बर १० कुतियाकबर डुबानमा पर्ने गर्छ । बाढी र डुबानको समयमा नेपालसँगको सम्पर्क बिच्छेद हुने कुतियाकबरमा तत्काल उद्धार गर्न पनि कठिनाई हुने गरेकाले सोही स्थानमा अग्लो घर सेफ हाउन बनाउन लागिएको हो । नगरपालिका, निड्स नेपाल, मर्सी कोर ज्यूरीच बाढी उत्थानशीलता सञ्जाल र स्थानीयको संयुक्त लगानीमा ३६ लाखको लागतमा सेफ हाउस बनाउन लागिएको नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बूले विभिन्न संघसंस्थाको सहयोगमा सेफ हाउस बनाउन लागिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘यो रिस्क जोनमा पर्छ । तत्काल उद्धार गर्न आउन पनि नसकिने स्थिति हुन्छ । निड्स नेपाल र स्थानीयको संयुक्त लगानीमा ३६ लाखको लगानीमा अहिले अग्लो सेफ हाउस बनाउन लागेका छौ । गर्नै प नभए उहाँहरुले रुखमै रात काट्नुपर्ने अवस्था आउने भयो । महाकाली र जोगबुढा नदीको तटबन्धको लागि स्थानीय बजेटले पुग्दैन । ’

हिउँदमा गहुँका बाला लहलह भएको कुतियाकबर को भूभाग मनसुनमा जलमग्न हुनेगर्छ । अनि स्थानीयलाई ज्यान जोगाउन नै हम्मेहम्मे पर्छ । २०७८ कात्तिकमा महाकालीमा बाढी आउँदा बस्ती पूरै डुब्यो । भारतीय सीमाको बंगाली बस्तीको अग्लो ठाउँमा पुगेर स्थानीयले ज्यान जोगाए । कुतियाकबरका बासिन्दासँग शहरीयाको जस्तो बिलासी जीवन बाँच्ने लालसा छैन । एउटै सपना छ, आफ्नो र समुदायको ज्यान जोगाउने । वर्षेनी बाढीले घरखेत, जायजेथा बगाएर आर्थिक रुपमा शुन्य मा झर्ने गरेका उनीहरु यो हिउँदमा सुरक्षित आवासगृह बनाउनसके बाँच्ने सपना साकार हुन्थ्यो भन्छन्, स्थानीय टेकबहादुर सुनार ।

‘आधा जमिन खोलाले फालिसक्यो । हामीहरु जाने कता ? अहिले हामी दशगजा भित्रै बसेका छौ । वर्षेनी बाढी आउँथ्यो । केराको बुँगा काटेर काठले बाँधेर पनि हामी आफूलाई बचाउने गथ्र्यो । पानीको सतह बढीरहेको छ तपाईहरु सुरक्षित ठाउँमा जानुहोस् भन्ने म्यासेज आउनु भन्दा अगाडी नै हामी असुरक्षित भईसकेका हुन्छौ । किनभने नजिकै रहेको झोलुङ्गे पुल पारी जलमग्न हुन्छ । त्यहाँबाट उहाँ (श्री अम्बिका माध्यमिक विद्यालयमा विद्यालय) जान सक्दैनौ । यहाँ भरिनु भन्दा पहिले नै उता जलमग्न भइसकेको हुन्छ । अनि हामी कहीँ जान सक्दैनौ । जथाभावी हिँड्दा डुबिन्छ कि भन्ने डर पनि हुन्छ । त्यसैले हामी घरको माथि साडी, धोती वा कम्बलको झोलुङ्गा बनाएर बच्चाहरु र महत्वपुर्ण कागजातहरु राख्ने गर्छौंं । असार साउन, भदौ असोज कात्तिक महिनामा हामी डराई डराई त्रसित भएरै बाचेका हुन्छौ । बाढी आएपछि आफैँ भाग्ने पहिला । आफू बच्ने, समुदाय जतासुकै जाउँन् भन्ने हुन्थ्यो । अहिले भने अरुलाई पनि बचाउने किसिमको ज्ञानहरु संघसंस्थाले सिकाए । त्यसपछि सेल्टर हाउसको ज्ञान हामीलाई आयो । अनि बाँच्ने सपना पूरा गर्नका लागि आफैँले जमिन दिएँ । ६ ÷७ बर्ष अघि देखि हामीले उँचो घर (सेफ हाउस) को सपना देखेका थियौँ । अब साकार होला जस्तो लागेको छ । हामीलाई धेरै खुशी लागेको छ । ’

स्थानीय श्यामलाल सुनार बाढीले वर्षभरिका लागि खाने धानखेती बगाउनुको साथै घरभित्रको अन्नअनाजमा पनि क्षति पु¥याउँदा हातमुख जोर्न नै कठिन हुने गरेको गुनासो गर्छन् । स्थानीय नरबहादुर सुनार, वसन्ती बुढा सरकारले केही पनि नगरेको गुनासो गर्छन् । मायादेवी सुनार बाढी आएको बेला धोतीको झोलुङ्गे बनाएर ज्यान जोगाएको सम्झिन्छिन् ।

दोधारा चाँदनी नगरपालिकाकाले पछिल्लो ३ आर्थिक बर्षमा ४६ लाख २६ हजार ९ सय ८१ रुपैयाँ विपद् व्यवस्थापन प्रयोजनको लागि मात्रै खर्च गरेको छ । कटान रोकथामका लागि प्रदेश पूर्वाधार र समपूरक तथा नगरपालिकाको वार्षिक बजेट समेत गरी २ करोड २८ लाख ५० हजार खर्च भएको छ । तटबन्धको काम अहिले पनि जारी छ । महाकाली नदीमा महाकाली सिंचाई र जोगबुढा नदीमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट तटबन्ध निर्माणको काम भइरहेको छ ।

कुतियाकबरमा निर्माण गर्न लागिएको सुरक्षित आवास गृहले मानवीय क्षति त रोक्ला तर हरेक वर्ष बाढीका कारण पुगेको भौतिक सम्पतीको हानीनोक्शानीको भरपाई हुनसक्दैैन । त्यसैले सरकारले कुतियाकबर जस्ता कयौ जोखिमयुक्त वस्तीमा पुगेको भौतिक सम्पतीको हानी नोक्शानीको मूल्ंयाकन गरी अन्तर्राष्ट्रिय वित्तकोष समक्ष क्षतिपूर्तिको दाबीसम्म गर्नुपर्ने देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);