महाकाली नदीकिनारमा घर भएकाहरू पनि डरत्रासमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पुष्कर भट्ट,महाकाली , १ भदौ । देशभर बाढी र पहिरोले जनधनको नोक्सानी गरिरहेका बेला कञ्चनपुरको महाकाली नदीकिनारमा घर भएकाहरू पनि डरत्रासमा दिन गुजारिरहेका छन् । सुदूरपश्चिमका पहाडी जिल्लामा अविरल वर्षा भइरहँदा महाकाली नदीकिनारका ब्रह्मदेव, जिम्मुवा, भुजेला, ऐरी, पिपरैया, चाँदनी दोधारालगायत गाउँमा त्रास फैलिने गरेको छ ।

महाकाली नदी नियन्त्रणका लागि सरकारले बर्सेनि तटबन्ध गर्ने गर्छ । तर, वर्षात् लागेपछि सुरु हुने तटबन्धको कार्यप्रति स्थानीय ढुक्क छैनन् । तटबन्धनका लागि बनाइएको बाँधको मर्मतसम्भार नहुँदा बाढी आउने बित्तिकै नदी गाउँ पस्ने गरेको छ ।

 

नदीमा पानीको बहाव बढ्नेबित्तिकै भारतले वनबासा पुलको नेपालतर्फका सबै ३४ ढोका सबै खोलिदिने गरेकाले पनि भीमदत्त नगरपालिका र महाकाली नगरपालिकाका गाउँबस्ती डुबानमा पर्ने गरेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भने स्थानीयबाट बाढीको बहाव बढेको खबर आउनेबित्तिकै सम्बन्धित निकायलाई घच्घच्याउने गरेको जनाएको छ ।

१० वर्षयता महाकाली नदीकै कारण भीमदत्त नगरपालिका र तत्कालीन दोधारा चाँदनी गाविसमा हजारौं बिघा जमिन बगरमा परिणत भइसकेको छ भने सयौं परिवार विस्थापित भएका छन् । तर, सरकारी पक्षबाट नेपाली भूमि संरक्षणका लागि कूटनीतिक पहल त हुन सकेको छैन नै, ‘जनताको तटबन्ध कार्यक्रम’ पनि जनताको आँखा छारो भनेझैं भइरहेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);