काठमाडौँ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले हार्नको लागि जन्मिएको पार्टी नभएको भन्दै छिट्टै फेरी सरकारको नेतृत्व गर्ने दाबी गर्नुभएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित नेकपा (एमाले)को राष्ट्रिय जनप्रतिनिधि भेलाललाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो दाबी गर्नुभएको हो । उहाँले मुलुकको विकास गर्नुका साथै राष्ट्रियताको रक्षा गर्ने जिम्मेवारी समेत एमालेकै भएको भन्दै सो जिम्मेवारी पूरा गरेरै छोड्ने जिकिर गर्नुभयो । उहाँले आगामी निर्वाचनमा स्थानीय तह मुख्य प्रतिस्पर्धाको थलो भएको भन्दै जनप्रतिनिधिहरूलाई आफ्नो काममा देखिएका कमजोरी सच्याउन निर्देशन दिनुभयो ।
उहाँले विगतमा भएका कमजोरी भए सच्याउन र जनतामाझ विश्वास कायम गर्नेगरी काम गर्न समेत निर्देशन दिनुभयो । उहाँले जनप्रतिनिधिहरूले राम्रो काम गरेको अवस्थामा पुनः सोही पदमा निर्वाचित हुने सम्भावना रहने भन्दै जनताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संविधान तथा संघ र प्रदेशका कानूनसँग नबाझिने गरी स्थानीय तहले आफ्नै कानून र ऐन निर्माण गरेर काम गर्नसक्ने भन्दै आवश्यकताअनुसार ऐन निर्माण गर्न समेत आग्रह गर्नुभयो ।उहाँले पार्टीका कार्यकर्ता तथा आम नागरिकलाई खुसि बनाउने गरी कार्य सम्पदान गर्न समेत जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।




