मधेसमा मुख्यमन्त्री नियुक्तिको अन्योल, समय थप्न तीन दलको माग, ठूलो दलले माग्यो धारा १६८(३) अनुसार सरकार | ईमाउण्टेन समाचार

Our Network

मंसिर ४ २०८३, शुक्रबार

मधेसमा मुख्यमन्त्री नियुक्तिको अन्योल, समय थप्न तीन दलको माग, ठूलो दलले माग्यो धारा १६८(३) अनुसार सरकार

काठमाडौँ ।

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिए पनि मुख्यमन्त्रीमा दाबी पेश हुन सकेको छैन । प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८(२) अनुसार सरकार गठनका लागि दिएको सात दिनको समय शुक्रवार अपराह्न ४ बजे सकिएको हो । तर उक्त अवधिमा कुनै पनि राजनीतिक दलले मुख्यमन्त्रीमा दाबी पेश गरेनन् । समयसीमा सकिएपछि नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका नेताहरूले प्रदेश प्रमुख कर्णसँग भेट गरी सरकार गठनका लागि थप समय माग गरेका छन् । नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले सात दिनको समयमध्ये चाडपर्व र एमालेको महाधिवेशनका कारण राजनीतिक छलफलका लागि पर्याप्त समय नपुगेको बताउनु भयो । तीन दलका करिव ६१ जना प्रदेशसभा सदस्यको प्रतिनिधित्व गर्ने नेताहरूले सहमति जुटाउन केही दिन थप समय दिन प्रदेश प्रमुखसँग आग्रह गरेको उहाँले जानकारी दिनुभयो ।

यादवले राजनीतिक सहमतिका लागि विभिन्न पक्षमा छलफल भइरहेको भए पनि निष्कर्षमा पुग्न नसकिएको बताउनु भयो । थप समय दिने वा नदिने भन्ने निर्णय प्रदेश प्रमुखको तजबिजमा रहेको उहाँको भनाइ छ । यता मधेस प्रदेश सभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालले भने संविधानको धारा १६८(३) अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउन माग गरेको छ । जसपा नेपालका मधेस प्रदेशसभा सदस्य एवं पूर्वमुख्यमन्त्री लालबाबु राउतले धारा १६८(२) अनुसार सरकार गठनका लागि दिइएको समय सकिएकाले अब स्वतः १६८(३) अनुसार अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले समयसीमा सकिइसकेको अवस्थामा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा ठूलो दलको नेताका रूपमा आफ्नो पार्टीका नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने बताउनु भयो । मधेस प्रदेशमा सरकार गठनका लागि दलहरूबीच सहमति जुट्न नसक्दा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अन्योलमा परेको छ । प्रदेश प्रमुख कर्णले भने थप समय दिने वा संविधानको अर्को व्यवस्थाअनुसार सरकार गठन प्रक्रिया अघि बढाउने भन्नेबारे निर्णय गरिसक्नुभएको छैन ।

Leave a Reply

ताजा समाचार