देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा बुझाएको हस्ताक्षर दुई दिन भित्र फिर्ता लिन एमालेको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा बुझाएको हस्ताक्षर दुई दिन भित्र फिर्ता लिन एमालेको निर्देशन

काठमाडौं । नेकपा एमालेले आफ्ना २३ निवर्तमान सांसदलाई सर्वोच्च अदालतमा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ ।

बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकले नेता माधव कुमार नेपाल र झलनाथ खनालसहितका २३ निवर्तमान सांसदहरुलाई हस्ताक्षर फिर्ता गरेर पार्टी पक्षमा उभिने निर्देशन दिने निर्णय गरेको हो ।

नेपाल पक्षका २३ सांसदहरुले विपक्षी गठबन्धनलाई साथ दिँदै देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरी सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । सो हस्ताक्षर फिर्ताका लागि दुई दिनको समय दिईएको छ ।

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकमा नेपाल पक्षका नेताहरु सहभागी छैनन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तीका लागि आह्वान गरेपछि नेपाल समुहका २६ सांसदले कांग्रेस सभापति देउवाको पक्षमा हस्ताक्षर गरेका थिए ।

देउवाको पक्षमा एक सय ४९ सांसदले हस्ताक्षर गरेका थिए । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि एमाले र जसपाको समर्थन रहेको भन्दै दाबी पेश गरेका थिए । राष्ट्रपति भण्डारीले दुबै पक्षको दाबीमा बहुमत नपुगेको निर्णय सुनाएपछि जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरिएको थियो ।

सो विघटन पछि विपक्षी गठबन्धनले विघटन खारेज र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै एक सय ४६ सांसद सर्वोच्च पुगेका थिए । जसमध्ये एमाले नेपाल पक्षका २३ निवर्तमान सांसदहरु पनि रहेका छन् ।

आजको बैठकले सोही २३ निवर्तमान सांसदहरुलाई २ दिन भित्र हस्ताक्षर फिर्ता लिन आदेश दिएको हो ।

बैठकले पार्टी एकतालाई सुदृढ पार्नका लागि नेता कार्यकतालाई आव्हान गरेको पनि प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । कार्यकर्ताको भावनालाई केन्द्रविन्दुमा राखेर एकतामा योगदान दिन नेता, कार्यकर्तामा आव्हान गरिएको छ ।

प्रवक्ता ज्ञवालीले भने – ‘यो पार्टीको एकतामा यो मुलुकको लोकतन्त्र, कम्युनिष्ट आन्दोलन र राष्ट्रको भविष्य पनि धेरै हदसम्म जोडिएको हुनाले यो पार्टीको एकतालाई सुदृढ गर्न हामीले पुनः एकचोटी सबै नेता, कार्यकर्ताहरुलाई आव्हान गरेका छौँ । अहिले पार्टीभित्र देखा परेका केही समस्याहरुका कारणले देशभर जनतामा निराशा छ र विपक्षीहरुमा उत्साह छ । सबै नेता, कार्यकर्ताहरुलाई हाम्रो पार्टीको काँधमा रहेको ऐतिहासिक अभिभारालाई जनचाहाना, कार्यकर्ताको भावनालाई केन्द्रविन्दुमा राखेर एकतामा योगदान गर्न आव्हान गरेका छौँ ।’

एमाले केन्द्रीय कमिटी बैठक शनिबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पुनः बस्ने प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);