नेपालको भूमिलाई छिमेकीविरुद्ध सैन्य अखडा बन्न दिनुहुँदैनः माधवकुमार नेपाल | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८३, शनिबार

नेपालको भूमिलाई छिमेकीविरुद्ध सैन्य अखडा बन्न दिनुहुँदैनः माधवकुमार नेपाल

काठमाडौँ ।

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको भूमिलाई कुनैपनि विदेशी शक्तिले छिमेकी मुलुकविरुद्ध सैन्य गतिविधि गर्ने अखडाका रूपमा प्रयोग गर्न नहुने बताउनुभएको छ । उहाँले नेपालको राष्ट्रियता संकटमा परेको उल्लेख गर्दै विदेशी शक्तिहरूले नेपालप्रति वक्रदृष्टि लगाइरहेको दाबी गर्नुभयो । यसप्रति पार्टीका नेता तथा कार्यकर्ताहरू सचेत र सतर्क हुनुपर्ने उहाँको भनाइ छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले नेपालको भूमि कुनैपनि छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिनुपर्ने र प्राकृतिक तथा अन्य स्रोतसाधनको उपयोगका विषयमा पनि देशलाई विवादमा पार्न नहुने बताउनु भयो । उहाँले नेपालको भौगोलिक अवस्थाले समेत असंलग्न परराष्ट्र नीतिको आवश्यकता निर्देशित गरेको उल्लेख गर्दै दुवै छिमेकी मुलुकसँगको सम्बन्ध सुमधुर बनाउनुपर्नेमा जोड दिनुभयो । नेपालले राजनीतिक परिवर्तनका लागि आन्दोलनको महत्वपूर्ण भुमिका रहेको बताउँदै आन्दोलनबिना परिवर्तन सम्भव नहुने बताउनु भयो ।

आन्दोलनले जनतामा चेतना र जागरण सिर्जना गर्ने भएकाले पार्टीले जनपरिचालनलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । उहाँले पार्टी निर्माण र संगठन विस्तारका लागि योग्य तथा सक्षम कार्यकर्ता तयार गर्नुपर्नेमा जोड दिँदै नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न पार्टीको स्कुल विभाग र सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । पार्टी निर्माणका लागि कार्यकर्ता प्रशिक्षणको महत्वपूर्ण भुमिका रहने भन्दै उहाँले त्यसका लागि समन्वय गरेर प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भयो । सहसंयोजक नेपालले नेपाल सगरमाथा र बुद्धको देश भएको बताउनु भयो । बुद्धको शान्तिको सन्देश संसारमा संप्रोषण गर्न आवश्यक रहेको बताउनु भयो । नेपालको गौरवशाली इतिहासबारे विश्व मञ्चमा बुझाउन जरुरी रहेको बताउनु भयो । जनताको हितमा समर्पण हुने पार्टी कम्युनिष्ट पार्टी नै रहेको दाबी गर्नुभयो ।

Leave a Reply