काठमाडौँ ।
नेपाली काँग्रेसले पार्टीको नाम र चुनाव चिन्ह दुरुपयोग गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । शनिवार पार्टी मुख्यालय सानेपामा केन्द्रिय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा काँग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टीको नाम र चिन्हको दुरुपयोग गर्न विरुद्ध कानूनी उपचार गर्ने बताउनुभएको हो । पार्टीको नाम, लेटरप्याड, झण्डा तथा चुनाव चिह्न ‘रुख’ अनधिकृत रूपमा प्रयोग गर्ने व्यक्ति तथा समूहविरुद्ध कानूनी कारबाही अघि बढाउने निर्णय काँग्रेसको केन्द्रिय समितिले गरेको उहाँले जानकारी दिनुभयो । काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिक नाम, लेटरप्याड, ब्यानर, झण्डा, छाप तथा चुनाव चिह्न रुखको दुरुपयोग गरिरहेको उहाँको आरोप छ । उहाँले केही व्यक्ति तथा समूहले पार्टीको महाधिवेशनका नाममा गरेका गतिविधिले पार्टी सदस्य तथा शुभेच्छुकमा भ्रम सिर्जना गरेको बताउनु भयो ।
काँग्रेसको असोजमा भएको १५ औँ नियमित महाधिवेशनले निर्वाचित गरेको गगनकुमार थापा नेतृत्वको २३१ सदस्यीय केन्द्रिय कार्यसमिति नै वैधानिक रहेकोले भ्रममा नपर्न उहाँले आग्रह गर्नुभयो । उहाँले निर्वाचन आयोगलगायत सम्बन्धित अधिकारप्राप्त निकायलाई पार्टीको वैधानिक पहिचान संरक्षण गर्न र आधिकारिक प्रतीकको दुरुपयोग रोक्न आवश्यक कदम चाल्न आग्रह गरेको पनि जानकारी दिनुभयो ।उहाँले केन्द्रिय समितिको बैठकले ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि २०८३’ परिमार्जनसहित पारित भएको जानकारी दिनुभयो । काँग्रेसका कार्यक्रम लामो हुने, धेरै व्यक्तिलाई आसन ग्रहण गराउने र वक्ताको संख्या अत्यधिक हुने गरेकोले त्यसलाई व्यवस्थित गर्न कार्यविधि ल्याएको उहाँले बताउनु भयो ।




