अर्घाखाँचीका स्थानीय तहमा करिव सवा ४ अर्ब बराबरको बजेट : कोभिड खोपदेखि एकल पुरुष भत्तासम्म | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

अर्घाखाँचीका स्थानीय तहमा करिव सवा ४ अर्ब बराबरको बजेट : कोभिड खोपदेखि एकल पुरुष भत्तासम्म

बिष्णु खनाल,
अर्घाखाँची । अर्घाखाँची जिल्लाको ६ वटा स्थानीय तहले आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट विनियोजन गरेका छन् । बिहीबार अर्घाखाँचीका ६ वटा स्थानीय तहले आगामी आर्थिक वर्षका लागि ४ अर्व १८ करोड ५२ लाख एक हजार रुपैयाँ बरावरको बजेट विनियोजन गरेका छन् । यी स्थानीय तहहरुले आगामी आर्थिक वर्षको बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेका छन् ।

सन्धिखर्क नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ९८ करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले कृषि, पशुपालन, स्वास्थ्य र पर्यटन क्षेत्रसँगै कोरोना भाईरस रोकथाम गर्न मृख्य प्राथमिकतामा राखेको छ । नगरवासीका लागि कोभिड १९ खोपमा ५० लाख बजेट विनियोजन गरेको छ भने एक वडा एक पकेट कृषि बाली विकास कार्यक्रम, एक वडा एक कृषि प्राविधिक, नगरभित्र रहेका धार्मिक साँस्कृतिक पर्यटकीय स्थलहरुलाई प्राथमिकतामा राखिएको छ ।

यस्तै भौगोलिक हिसावले देशकै ठूलो नगरपालिका शितगंगा नगरपालिकाको ८० करोड ९० लाख बराबरको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाले कृषि, सडक, स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट ल्याएको नगरप्रमुख सुर्यप्रसाद अधिकारीले जानकारी दिए ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४० वर्ष पुगेका एकल पुरुष र ३५ वर्ष पुगेका एकल महिलालाई भत्ता दिने, जनतालाई पर्ने आर्थिक भार कम गर्न खानेपानीको विद्युत महसुलमा ७५ प्रतिशत अनुदान दिने, ग वर्गका अपाङ्गता भएका व्यक्तिहरुको आत्मबल बढाउन मासिक भत्ता दिने भएको छ ।

यता भुमिकास्थान नगरपालिकाले आव २०७८/०७९ का लागि ८० करोड २७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरले कृषि, शिक्षा,स्वास्थ्य, सडक पशुपालन, पर्यटन, खानेपानी लगायतका क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको प्रमुख प्रशासकिय अधिकृत लिलबहादुर राउतले जानकारी दिए ।

नगरले प्रत्येक माध्यमिक विद्यालयमा नर्सिङ्ग कार्यक्रम लागु गर्ने, सबै कृषको घरघरमा करेसाबारी निर्माण गर्ने र शिक्षाको रणनीति योजना निर्माण गर्ने लगायतका महत्वपूर्ण योजनाहरु निर्माणगरी बजेट विनियोजन गरेको राउतले बताए ।

यस्तै पाणिनी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६३ करोड बराबरको बजेट ल्याएको छ । गाउँपालिकाले यसपालि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । कृषि तथा पशुपालन क्षेत्रमा आधुनिकिकरण र व्यवसायीकरण गर्दै कृषि व्यवसाय प्रबद्र्धनको माध्यमबाट रोजगारी सिर्जनामा जोड दिने पाणिनी गाउँपालिकाले निती तथा कार्यक्रममा उल्लेख गरेको छ । दुध उत्पादनका आधारमा दिने अनुदानलाई निरन्तरता दिदैँ मासु तथा अण्डा उत्पादनको आधारमा प्रोत्साहन अनुदान दिने व्यवस्था मिलाएको छ ।

यस्तै अर्घाखाँचीको छत्रदेब गाउँपालिकाले पनि आर्थिक बर्ष २०७८/०७९ को लागि ६७ करोड ५१ लाख ७७ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले स्वास्थ्य, खानेपानी, पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

गाउँपालिकाले बल्कोट अस्पताल र स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य इकाईका सेवा प्रवाहलाई गुणस्तरिय बनाउने, लिफ्टिङ खानेपानी आयोजनाका लागि ३३ प्रतिशत विद्युत महशुल पालिकाले व्यहोर्ने, एक घर एक धारा अभियानलाई निरन्तरता दिने, बाँदर, बँदेललाई नियन्त्रण गर्ने उद्देश्यले जङ्गलमा फलफूल खेती गर्ने र सामुदायिक वनमा बहुमूल्य जडीबुटी लगाउने जस्ता कार्यक्रम बजेटमा उल्लेख गरिएको छत्रदेबका गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिए ।

यस्तै मालारानी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ लागि ८० करोड ३३ लाख २४ हजार रुपैयाँको बजेट ल्याएको छ । जसमा कृषि, पर्यटन, सहकारी, स्वस्थ्य, शिक्षा, खानेपानी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको प्रमुख प्रशासकिय अधिकृत रमेश पन्थीले जानकारी दिए ।

कृषि तर्फको बजेटबाट युवालाई सहुलियत रुपमा कर्जा प्रदान गर्ने, उत्पादनको आधारमा अनुदान, गाउँपालिका भित्र भेटेनेनरी अध्ययन गरेकाका लागि मासिक रुपमा राहत प्रदान गर्ने, एमबिबिएस, ईन्जीनियर अध्ययन गर्ने लक्षीत वर्गलाई छात्रबृति दिने गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);