कपिलवस्तुका १० वटै पालिकाले गरे निर्धारित समयमै नगर तथा गाउँ सभा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कपिलवस्तुका १० वटै पालिकाले गरे निर्धारित समयमै नगर तथा गाउँ सभा

कपिलवस्तु। कपिलवस्तुका १० वटै स्थानीय तहले संविधानले तोके अनुसार निर्धारित मितिमै नगर र गाउँ सभा गरेका छन् । असार १० गते स्थानीय तहले सभा राख्नु पर्ने कानुनले स्पष्ट पारेको छ ।

६ नगरपालिका र ४ गाउँपालिका रहेको कपिलवस्तुमा ४ गाउँपालिकाले विहीबार गाउँ सभा राखेका हुन् । जिल्लाको विजयनगर गाउँपालिकाले नीति तथा कार्यक्रमसहितको बजेट ल्याएको छ भने शुद्धोधन गाउँपालिकाले सभा मार्फत नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गराएको छ । यशोधरा र मायादेवी गाउँपालिकाले पनि नीति तथा कार्यक्रम पारित गरेका छन् ।

यशोधरा गाउँपालिका अध्यक्ष गिरजेश कुमार पाण्डेयले कोभिड–१९ संक्रमणबाट जनताको जीवन रक्षा, कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी, धार्मिक, साँस्कृतिको विकास संरक्षण तथा प्रवद्र्धनलाई प्राथमिकतामा राखेको बताएका छन् । उनले केही गत वर्षकै कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो । १५ सैयाको अस्पताल २ जना डाक्टरको ब्यवास्था गरिएको छ ।बैदौलीमा क्याम्पस संचालन गरिने अध्यक्ष पाण्डेयले बताए ।

यस्तै आर्थिक विकास, सामाजिक विकास, स्वच्छ खानेपानी, पूर्वाधार विकास, खेलकूद, वन वातावरण तथा विपद् व्यवस्थापन, स्वास्थ्य विकास, सेवा प्रवाह र शुसासनलाई निरन्तरता दिँदै अगाडी बढ्दै जानुपर्नेमा जोड दिएको अध्यक्ष पाण्डेयले बताउनुभयो । पुर्वाधार विकासका क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्न सकेको बताएका छन् ।

गाउँपालिकालाई धुलो र हिलो मुक्त पालिका घोषणा गर्ने गरी आगामी आर्थिक वर्षमा बाँकी कामहरु गर्न प्रस्ताव गरिएकोे बताउनुभयो । छोरी बचाउँ, छोरी पढाउ अभियान अन्तर्गत छोरी शिक्षाका लागि गाउँपालिकाले जिम्मेवारीसमेत लिएको छ ।

गाउँपालिकामा बिउँ बैँक स्थापना गर्ने, स्थानीय माटो, बालीनाली अनुसार उत्पादन गर्ने, सिँचाई व्यवस्था, कृषि विकासलाई आधुनिक प्रणालीमा रुपान्तरण गरी आत्मनिर्भर बनाउने, युवा रोजगारी, पशु व्यवसाय, पर्यटन प्रवद्र्धन, निशुल्क स्वास्थ्य गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्ने, आवश्यकता अनुसार बर्थिङ सेन्टरको संख्या बढाउने, बालमैत्री वडा घोषणा, गाउँपालिकामा सेवाका लागि सहायता कक्ष सञ्चालन, नक्सा पासको व्यवस्था, छानो मुक्त पालिका घोषणा गर्ने लगायत नीति तथा कार्यक्रममा राखिएको गाउँपालिको अध्यक्ष पाण्डेयले बताएका छन् ।

विजयनगर गाउँपालिकाले भने आगामी आर्थिक वर्षका लागि ५५ करोड ७१ लाख ५४ हजार ९ सय ६३ रुपैयाँको बजेट प्रस्ताव गरेको छ । विजयनगरले विहीवार नवौँ गाउँसभाबाट नीति तथा कार्यक्रमसहितको बजेट सर्वसम्मत रुपमा पारित गरेको हो ।

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले विजयनगर गाउँपालिकाको संगठन, संरचना तथा व्यवस्थापन सर्वेक्षणको मस्यौदा अन्तर्गत वार्षिक नीति तथा कार्यक्रम, न्यायिक समिति प्रतिबेदन सर्वसम्मतबाट पारित भएको र अन्य विषय बैठकमा छलफल गरिने बताए ।

यता ६ नगरपालिका मध्ये वाणगंगाले असार ३ गते नै आफ्नो नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरी असार ९ गते बजेट ल्याउन सफल भएको थियो । वाणगंगाले आव ०७८÷०७९ का लागि १ अर्व २८ करोड बराबरको बजेट ल्याएको हो ।

नगर उप–प्रमुख चक्रपाणी अर्यालद्धारा प्रस्तुत बजेटमा चालु तर्फ ८७ करोड २१ लाख, कार्यालय सञ्चालन र प्रशासनिक खर्च तर्फ १४ करोड ७१ लाख विनियोजन गरिएको छ । यस्तै सामाजिक सुरक्षा कार्यक्रममा २५ करोड, नगरपालिका तथा अन्तरगत कार्यालयमा कार्यरत कर्मचारीहरुको तलव भत्ता तथा नियमित कार्यक्रम लगायत अन्य प्रशासनिक कार्यका लागि १५ करोड ८७ लाख बराबरको बजेट उप–प्रमुख अर्यालले सभामा प्रस्तुत गरेका छन् ।

वाणगंगाले क्षेत्रगत बजेटमा सामाजिक विकास तर्फको शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा गरी ७१ करोड ५५ लाख बजेट विनियोजन गरेको छ । यस्तै पूर्वाधार तर्फ ३१ करोड ९७ लाख बजेट छुट्याएको वाणगंगाले आर्थिक विकास तर्फ ६ करोड ७९ लाख बजेट विनियोजन गरेको छ ।

वाणगंगाले वडागत तर्फ न्यूनतम ५० लाख र बाँकी वडाको क्षेत्रफल, जनसंख्या, भौगोलिक अवस्था, राजश्व असुलीको आधारमा अंकभार कायम गरी सुत्रको आधारमा सन्तुलित बजेट विनियोजन गरेको छ ।

बुद्धभूमि नगरपालिकाले असार ६ गते नै नीति तथा कार्यक्रम ल्याएको छ । अहिले बुद्धभूमि बजेट ल्याउने तयारीमा रहेको छ । नवौं सभाको पहिलो दिन नै नीति तथा कार्यक्रम ल्याएको बुद्धभूमिले बजेट ल्याए पछि नवौं नगर सभा विर्सजन गर्ने छ । नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले अब असारको तेस्रो हप्ता भित्र बजेट ल्याउने गरी तयारी भएको बताउनुभयो ।

नगर प्रमुख श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आगामी आवमा नगर स्तरीय सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने योजना छ । उपचारको लागि नगरपालिका भित्र सुविधा सम्पन्न सरकारी तथा निजी अस्पताल नभएको कारण नगर भित्र पालिका स्तरीय अस्पताल निर्माण गर्ने योजना छ ।

त्यस्तै विभिन्न निकायसम्म सहकार्य गरी १ मेगावाटसम्मको सोलार प्लान्ट उत्पादन समेत गर्ने योजना छ । सभामा नीति पेश गर्दै नगर प्रमुख श्रेष्ठले शिक्षा क्षेत्रमा प्रत्येक वडावाट विपन्न तथा पछाडि पारिएका छात्राहरूलाई उच्च शिक्षाको लागि ३ वर्षसम्म निःशुल्क अध्ययन गर्ने व्यवस्था गरेको बताए ।

नगर प्रमुख र उप–प्रमुखले मावि तहमा अध्ययन गर्ने विद्यार्थीहरूको लागि करियर काउन्सिलिङ कार्यक्रम समेत सञ्चालन गर्ने भएको छ । त्यस्तै स्नातक अध्ययन गर्ने फरक क्षमता भएका विद्यार्थीलाई ४० प्रतिशत ल्यापटप खरिदको लागि अनुदान दिने व्यवस्था पनि मिलाएको छ ।

शिवराज नगरपालिकाले भने आव ०७८÷०७९ का लागि १ अर्ब ११ करोड बराबरको बजेट ल्याएको छ । विहीबार नवौं नगरसभामा शिवराजले नीति तथा कार्यक्रमसंगै बजेट सार्वजनिक गरेको हो । नगरपालिकाकी उप प्रमुख शिवकुमारी थारुले नगर सभामा प्रस्तुत गरेको बजेटमा सामाजिक सुरक्षा तर्फ २० करोड बजेट विनियोजन गरिएको छ । यस्तै कृषिको क्षेत्रमा १ करोड १० लाख, पशु तर्फ ५० लाख, शिक्षा तर्फ ३ करोड ९ लाख, स्वास्थ्य तर्फ ३ करोड ७ लाख बराबरको बजेट विनियोजन गरिएको छ ।

नगर प्रमुख नेत्रराज अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोना संक्रमणले रोजगारी गुमाएका वर्गलाई स्वरोजगारमूलक कार्यक्रम, कृषि क्षेत्रको आधुनिकरण, शिक्षा क्षेत्रको गुणस्तरीयता कायम गर्नका लागि विभिन्न लोकप्रिय कार्यक्रम समेटिएको छ । यस्तै विगतमा अपुरा रहेका भौतिक विकासका कामहरुलाई निरन्तरता दिइएको छ ।

कृष्णनगर नगरपालिकाले आव २०७८÷७९ का लागि ८३ करोड बराबरको बजेट नीति तथा कार्यक्रम मार्फत सार्वजनिक गरेको छ । बिहीबार कृष्णनगर नगरपालिकाको छैंठो नगरसभामा नगर प्रमुख रजत प्रताप शाहले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन् ।

आब ०७८÷०७९ संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण शसर्त अनुदान, राजस्व बांडफांड, समपुरक अनुदान, विशेष अनुदान, मौज्दात रकम र ३ करोड आन्तरिक आय लागत सहभागिताबाट ८३ करोड ३ लाख ९२ हजार ४८४ बजेट विनियोजन गरिएको प्रमख प्रशासकिय अधिकृत विजय बहादुर कार्कीले बताए ।

यस बर्षमा नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ तथा आवश्यक पुर्वाधारर केही बहुबर्षिय योजनाहरुमा बजेट बाँडफाँँट गरिने नगर प्रमख शाहले बताउनुभयो । उहाँले अबको योजना कार्यक्रममा समाजिक विकास तर्फ विशेष बजेट विनियोजन गर्ने बताए ।

महाराजगन्ज नगरपालिकाको नवौं नगर सभाले आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । डिजिटल प्रविधी मार्फत उद्घाटन गरिएको महाराजगन्जको नगर सभामा नगर प्रमुख अब्दुल कलामले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रममा कोभिड–१९ संक्रमणबाट मुक्त, किचड मुक्त, छप्पर मुक्त नगर, कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी, धार्मिक, साँस्कृतिको विकास संरक्षण तथा प्रवद्र्धनलाई प्राथमिकतामा राखेको नगर प्रमुख कलामले बताए । उनले केही गत वर्षकै कार्यक्रमलाई निरन्तरता दिइको बताए ।

नवौँ नगर सभाबाट नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको हो । यस्तै आर्थिक विकास, सामाजिक विकास, स्वच्छ खानेपानी, पूर्वाधार विकास, खेलकूद, वन वातावरण तथा विपद् व्यवस्थापन, स्वास्थ्य विकास, सेवा प्रवाह र शुसासनलाई निरन्तरता दिँदै अगाडी बढेको महाराजगन्जका प्रमुख प्रशासकीय अधिकृत बेद प्रसाद खरेलले जानकारी दिए ।

महाराजगन्जले आगामी असार २२ गते बजेट प्रस्तुत गर्ने जनाएको छ । कपिलवस्तु नगरपालिकाले नीति तथा कार्यक्रम नगर सभामा प्रस्तुत भएपनि सार्वजनिक गरिएको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);