१३ लाखभन्दा बढी अफगान नागरिक स्वदेश फिर्ता, मानवीय संकट गहिरिँदै गर्दा ८८ लाख डलर सहयोगको अपिल | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १६ २०८३, सोमबार

१३ लाखभन्दा बढी अफगान नागरिक स्वदेश फिर्ता, मानवीय संकट गहिरिँदै गर्दा ८८ लाख डलर सहयोगको अपिल

छिमेकी मुलुकहरू इरान र पाकिस्तानबाट हालसम्म १३ लाखभन्दा बढी अफगान नागरिक आफ्नो देश फर्किएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले सार्वजनिक गरेको विवरण अनुसार यसरी स्वदेश फर्किनेहरूको लहर तिब्र भएसँगै अफगानिस्तानका स्थानीय समुदायहरूमा आवास तथा आधारभूत सेवा–सुविधाको चरम अभाव देखिएको छ । आसन्न हिउँद मौसमका कारण मानवीय जोखिम थप जटिल बन्ने भन्दै संस्थाले तत्काल ८८ लाख अमेरिकी डलर बराबरको आर्थिक सहयोग जुटाउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेको छ । छिमेकी मुलुकहरूबाट ऐतिहासिक रूपमा ठूलो संख्यामा अफगान नागरिकहरू स्वदेश फर्किने क्रम जारी रहँदा युद्ध र आर्थिक संकटले थलिएको अफगानिस्तानको आन्तरिक अवस्था झनै चुनौतीपूर्ण बन्दै गएको छ । आईओएमका अनुसार पछिल्लो समय सीमा पार गरेर दैनिक हजारौँको संख्यामा नागरिकहरू असुरक्षित र अनिश्चित भविष्यतर्फ धकेलिँदै घर फर्कन बाध्य भएका हुन् । अफगानिस्तानका लागि आईओएमका मिसन प्रमुख मिह्युङ पार्कले फर्किरहेका परिवारहरू पहिलेदेखि नै संकटग्रस्त रहेका बस्तीहरूमा पुगिरहेको जानकारी दिनुभएको छ ।
जाडो याममा अफगानिस्तानका दुर्गम हिमाली क्षेत्रहरू हिउँका कारण देशका अन्य भागबाट पूर्ण रूपमा विच्छेद हुने गर्दछन् । यस्तो अवस्था आउनुपूर्व नै विपन्न परिवारहरूलाई आश्रय र न्यानो लुगाको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । ठूलो संख्यामा भइरहेको यो पुनरागमनले अफगानिस्तानका कमजोर सामाजिक संरचना र सिमित स्रोतसाधनलाई थेग्नै नसक्ने सीमामा पु¥याएको छ । विशेषगरी स्वास्थ्य, खानेपानी र खाद्यान्नजस्ता आधारभूत आवश्यकताको अभावमा बालबालिका तथा ज्येष्ठ नागरिकहरू सबैभन्दा बढी जोखिममा परेका छन् । आईओएमले संयुक्त राष्ट्रसङ्घीय अन्तर–एजेन्सी वित्तीय अभाव पूर्ति गर्न दाता राष्ट्रहरूसँग ८८ लाख अमेरिकी डलर सहयोगको माग गरेको छ । यस सहयोग रकमबाट हिउँदमा अत्यावश्यक पर्ने विन्टर किट्स, आपतकालीन अस्थायी बासस्थान सामग्री र दैनिक उपभोग्य घरायसी सामग्रीहरू खरिद गरी हालै फर्किएका नागरिक, आन्तरिक रूपमा विस्थापित समुदाय र जोखिममा रहेका विपन्न वर्गलाई समयमै वितरण गरिने जनाइएको छ ।

अघिल्लो समाचार

Leave a Reply