विचार र सिद्धान्तहीन अन्तरविरोधमा जकडिएको एमाले (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

विचार र सिद्धान्तहीन अन्तरविरोधमा जकडिएको एमाले (भिडियोसहित)

संसद् पुनर्स्थापना गर्ने संवैधानिक इजलासको फैसलाले मुलुकको राजनीतिले सकारात्मक मोड लिने अपेक्षा गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिस गरेर ताजा जनादेशमा जाने निर्णय गरेका थिए । प्रधानमन्त्रीको उक्त निर्णयका विरुद्ध अदालतको फैसला आएसँगै अन्योलमा पुगेको नेपाली राजनीतिमा सर्वोच्चले फागुन २३ गते सुनाएको अर्को फैसलासँगै मुलुकको राजनीति नै अहिले धरापमा परेको छ ।

राजनीति विभिन्न स्वार्थ समूहहरूको टकरावको केन्द्र बन्दै गएको कारण पनि यो अवस्था देखिएको हो । तर राजनीतिक टकरावमा उत्रिएका विभिन्न दल र तिनका नेताहरुको टकरावको मुल मुद्दा नै यतिबेला विवादित रहेको छ । मुलतः सत्तारुढ दल एमालेमा उग्ररुपले देखिएको विवादले पार्टी सुदृढिकरण तर्फ भन्दापनि सत्ता र शक्ति आर्जनमा केही नेताले आफूलाई केन्द्रमा राखेको पाइएको छ । सोहीकारण यतिबेला संस्थापन पक्षसँग सिंगौरी खेलिरहेका माधव नेपाल र झलनाथ खनाल पक्षले उठाएका कतिपय मुद्दाहरु कार्यकर्ता पंक्तिबाटै तिरस्कृत हुने अवस्थामा पुगेको अवस्था छ । समग्रमा एमालेभित्र कै संस्थापन ईतर पक्षका गतिविधिले राजनीतिलाई नै खल्बलाइदिएको छ ।

फागुन २३ गतेको सर्वोच्चको आदेशपछि विभाजित बनेको नेकपामा आबद्ध माओवादी केन्द्र नेतृत्व एमालेभित्र खेलेर आफ्नो अभिष्ट साँध्ने रणनीतिकै कारण सत्तारुढ दल एमाले भित्र गहिरिंदै गएको विवाद यतिबेला फुटको चरणमा पुगेको छ । जसको छनक गत बुधबार ललितपुरको सानेपामा सम्पन्न एमालेकै माधव नेपाल समूहको दुईदिने कार्यकर्ता भेला र त्यसले निकालेको निचोडले पनि दिईसकेको छ । स्पष्ट शब्दमा भेलाले एमाले फुटेको स्विकार नगरेपनि गुढार्थमा भेलाले एमाले अब एक पार्टीको अवस्थामा नरहेको बताईसकेको छ । जसले विगतमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टी नेतृत्वभित्र पारस्परिक समझदारी, विश्वास र राजनीतिक इमानदारिता कायम गर्न गरेका ती सबै प्रयासलाई मिल्काइदिएको छ ।

एमालेमा अन्तरकलह चर्किएकै बेला एमालेइतर पार्टीबीच पनि पारस्परिक विश्वासको स्थिति देखिएको छैन । जसपा तथा नेपाली कांग्रेसभित्रकै एक खेमा व्यक्तिगत राजनीतिक लाभहानीको लोखाजोखामा प्रधानमन्त्री ओलीसँग नजिक हुन खोजिरहेका छन् । त्यहीं अर्को पक्ष ओलीलाई नै आफ्नो सबै भन्दा ठूलो वर्ग शत्रुका रुपमा परिभाषित गर्न लालायित देखिएको छ । सत्तामा जान मुख मिठ्याएर बसेको तर भाग मागिहाल्ने आँट जुराउन नसकेको कांग्रेसलाई भने एमाले नफुट्ने हो कि भन्ने ठूलो चिन्ता छ ।

यसैगरी हिजोसम्म एमाले भित्र ओलीकै राजनैतिक सहयात्रीका रुपमा रहेको नेपाल समूह न फुटी हाल्ने न जुटी हाल्न सक्ने असमन्जसको अवस्थाबाट गुज्रिएको छ । आफूसँग असन्तुष्ट समूहलाई गोलबद्ध गर्न प्रधानमन्त्री तथा अध्यक्ष ओलीले नेपालसमक्ष सम्मानपूर्ण मित्रताको हात बढाउँदै एकीकृत पार्टीलाई अक्षुण्ण राख्ने प्रयास गरेपनि सो प्रयास सफल हुने छाँट भने देखिएन । नेपाल पक्ष ओलीलाई झुकाएरै भएपनि पार्टीमा आफ्नो वर्चस्व कायम राख्ने सपना देखेर बसेको अवस्था देखिएको छ ।

यसरी हेर्दा एमाले भित्र विकसित हुँदै गएको यो घात प्रतिघातको अवस्थाले नेपालको सिंगो कम्युनिस्ट आन्दोलनमै सैद्धान्तिक शुद्धीकरण, कम्युनिस्ट नैतिकताको पुनर्बहाली र संगठनात्मक पुनर्संरचनाको आवश्यकता देखाएको छ । तर, सैद्धान्तिक धरातलको पहिचान, पारस्परिक विश्वास र सम्मानसहित सहयात्राका लागि आवश्यक आत्मबल तथा दृढसंकल्पको पनि उतिकै खाँचो देखिएको छ । एमालेभित्र यतिबेला जे जस्तो राजनीतिलाई प्रधान बनाईएको छ, त्यसलाई हेर्दा अबको कम्युनिष्ट आन्दोलन धरापमा पर्ने निश्चित छ । राजनीति हाँक्ने नेतृत्व घटना परिस्थिति अनुसार दृढनिश्चयी हुनुपर्दछ । यस्तो अठोट पार्टी र संगठन निर्माणसँगै मुलुकको राजनीति संग्ल्याउने ध्येयमा हुनु पर्दछ । यसो भएमा मात्रै मुलुकले सहिबाटो लिन्छ ।

अन्यथा मुलुक भड्खालोमा जाकिनुको विकल्प रहँदैन । यसको ठिक विपरित यतिबेला सत्तारुढ दल भित्र अन्तरविरोध देखिएको छ । तर, राजनीतिक भाषामा परिभाषित अन्तरविरोधको अर्थ यतिबेला सडकका पेटीमा उभिएर गरिने गालीगलौज र काखे सञ्चारमाध्यम मार्फत प्रवाहित तेजोवधी शब्दहरूबाट विकृत हुँदै गएको छ । नेतृत्वले लिएको दृढ निश्चयता यी र यस्तै प्रवृत्तिमा रुपान्तरित हुँदै गएको पाईएको छ । अहिले जे र जसलाई अन्तरविरोधका नाममा व्याख्या गरिंदै छ, त्यसले वामपन्थी दर्शन व्यवहारलाई कहाँ र कसरी सम्बोधन गरेको छ ? यसको जवाफ कहिंकतैबाट पाईएको छैन । अन्तरविरोधमा सम्झौता हुन्छ, स्वीकार हुन्छ, विकास हुन्छ र त्यसैले निकास पनि निकाल्दछ । तर सत्तारुढ दलभित्रको भनिएको यो अन्तरविरोध भने बिषयविहीन रहेको छ ।

अन्तरविरोधका नाममा नेपाल समूहले बोकेको चिन्तन नै वर्गीय सिद्धान्त बन्न पुगेको छ । त्यसैको धुरीमा नेपाल समूहको गुट उपगुट तमाशा देखाइरहेका छन् । एमालेभित्रको संस्थापन र संस्थापन ईतरबिचको यो रस्साकस्सीमा सिंगो पार्टी र पार्टीपंक्ती नै घाईते बन्नपुगेको छ । पार्टीमा वैचारिक संघर्ष भएसम्म त ठिकै थियो, जुन विचारले जित्ला केही समय त्यसैको अधिनमा पार्टी रहला । तर, यतिबेला एउटा पक्ष भाग नपुगेको भन्दै औडाहा मच्चाई रहेको छ । पार्टीले विधि मान्ने हो, विचार मान्ने हो र त्यसै अनुरुप जिम्मेवारी पनि दिने हो । व्यक्ति व्यक्तिलाई मान्दै पार्टी भाग पु¥याउँदै हिंड्न सक्दैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);