२७ गते सचिवालय बैठक बोलाउन ओलीलाई दाहालको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

२७ गते सचिवालय बैठक बोलाउन ओलीलाई दाहालको प्रस्ताव

काठमाडौं, २५ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २७ गते सचिवालय बैठक बोलाउन प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गर्नुभएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष प्रचण्डले ओलीलाई २७ गते बैठक बस्ने प्रस्तावमा सहमति जनाउन आग्रह गर्नुभएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । पार्टी कार्यालय धुम्बाराहीमा बसेको सचिवालयका पाँच जना सदस्यहरुको अनौपचारिक बैठकमा अध्यक्ष प्रचण्डले आफुले २७ गते बैठक बस्न सहमतिका लागि आग्रह गरेपनि प्रधानमन्त्री ओलीले स्वीकार नगरेको बताउनुभयो ।

प्रवक्ता श्रेष्ठका अनुसार २६ गते अध्यक्ष ओलीको उपत्यका बाहिर जाने कार्यक्रम भएकाले २७ गते बैठक बस्न आग्रह गरिएको हो । प्रचण्डको प्रस्तावमा ओलीले भने अहिलेसम्म सहमति नजनाएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘भोलि अध्यक्ष केपी शर्मा ओली उपत्यका बाहिर जाने भन्ने कार्यक्रम भएको स्थितिमा २७ गते सचिवालय बैठक बस्नुपर्छ भनेर प्रचण्डले अनुरोध गर्नुभएको छ । आजको छलफलमा पनि २७ गते बस्ने कुरामा ओलीले सहमति जनाइसक्नुभएको छैन । प्रचण्डले प्रस्ताव गर्नुभएअनुसार भोलिको कार्यक्रम सकिएपछि सहमति जनाउनुहुनेछ भन्नेमा हामी आशा गर्छौ ।’’

प्रवक्ता श्रेष्ठले सहमतिमा बैठक बसौ भनेर अनुरोध गर्नु कमजोरी नभएर पार्टी एकताको रक्षा गर्न र पार्टीका निर्णयहरु कार्यान्वयन गर्ने प्रयत्न भएको पनि बताउनुभएको छ ।
२७ गते पनि ओलीले बैठक सञ्चालनका लागि सहमति नदिए के गर्नुहुन्छ भन्ने पत्रकारहरुको जिज्ञासामा प्रवक्ता श्रेष्ठले पार्टी अहिले संकटको परिस्थितिमा रहेकाले एकताप्रतिव सबै संवेदनशील रहेको बताउनुभयो । पार्टी एकताको रक्षा गर्न अहिले पनि बैठक नबसे के गर्ने भन्ने विषयमा केही नसोचेको उहाँले बताउनुभयो ।

यसअघि गत शुक्रबार सचिवालयका ५ जना सदस्यहरुले बैठक बोलाउन आग्रह गर्दै ओलीलाई लिखित प्रस्ताव गरेका थिए । तर उहाँले सहमति जनाउनुभएको थिएन् । आजको अनौपचारिक बैठकमा अध्यक्ष प्रचण्ड सहित वरिष्ठ नेता माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);