नेकपामा अब एकल नेतृत्व आवश्यक (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेकपामा अब एकल नेतृत्व आवश्यक (भिडियोसहित)


सत्तारुढ नेकपा भित्रको विवादले झन उग्र रुप लिंने स्रकेतहरु देखिन थालेका छन । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमत सचिवालय सदस्यबीच चरणबद्ध रुपमा अनौपचारिक बैठक आयोजना गर्न थालेपछि नेकपा विवाद भुसको आगो झैं भित्रभित्रै सल्किरहेको अनुभुत गर्न सकिन्छ । पार्टीको विवाद नेताहरुले धैर्यता पुर्वक निराकरण नगरी आत्मकेन्द्रीत ढंगले पौंठाजोरीमा परिणत गर्दै लगे भने आगामी दिन नेकपाका लागि झनै असहज हुने दृष्टान्तहरु सामुन्नेमा आइरहेका छन् । सिद्धान्त र विचारमा होइन, व्यवहार र कार्यशैलीलाई लिएर जुँगाको लडाइ मा होमिएको नेकपाले अब एकल नेतृत्वको अभ्यास नगर्ने हो भने यो पार्टीलाई रामराम भन्ने दिशाबाट रोक्न कसैले नसक्ने परिस्थितिको विकास हुँदै गइरहेको छ ।

नेकपा हुनु अघि एमाले र माओवादीले मुलकुमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको वकालत गरेका थिए । कसैले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र कसैले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भने पनि सारमा नयाँ नेपाल निर्माणका लागि शासन सत्ताको बागडोर प्रत्यक्ष निर्वाचित कार्यकारीकै हातमा हुनुपर्ने वकालत दुबै पार्टीको थियो । तर अहिले आफ्नै पूर्ववत् मूल्य मान्यतालाई तिलान्जली दिदै नेकपाका नेताहरुले आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई चटपटाउन नदिने गरी चौतर्फी घेराबन्दी गरिरहेका छन् । जबसम्म नेकपा आफनै प्रधानमन्धीमाथी चरम अविश्वास गरि घेराबन्दी गर्ने दुष्चक्रमा फसिरहन्छ र एकल नेतृत्वको अभ्यासमा जांदैन तबसम्म यो पार्टीको विवाद सिंहदरवार वरिपरि कुमालेको चक्र घुमे झैं घुमिरहन्छ ।

धेरै टाढा जानु पर्दैन छिमेकी मुलुक भारतमै पनि आफ्नै पार्टीको प्रधानमन्त्रीको नेतृत्वलाई अन्य वरिष्ठ नेताहरुले सहर्ष स्वीकार गरेको इतिहास साक्षी छ । नरेन्द्र मोदी प्रधानमन्त्री भइरहँदा पार्टी अध्यक्ष रहेका अमित साह गृह मन्त्री बन्न तयार भए भने त्यसअघि प्रधानमन्त्रीकै दावेदार रहेका लालकृष्ण आडवाणी रक्षा मन्त्री बन्न तयार भएर मोदीलाई सहयोग गरेका थिए । तर हामी कहाँ पार्टीका अध्यक्ष र प्रधानमन्त्री भइसकेका वरिष्ठ भनिएकै नेताहरुको ध्यान आफ्नै पार्टीका प्रधानमन्त्रीलाई घेराबन्दी गर्नमै बित्ने गरेको छ । दुई ठुला पार्टी एक बनाउन दुई अध्यक्षात्मक प्रणाली अपनाएको नेकपा पछिल्ला दिनमा सोही कारण यस्तो दुष्चक्रमा फसेको छ कि, त्यहाँ अहिले दुई अध्यक्ष मिलेर मात्रै सहमति हुँदैन । कुनै पनि निर्णय गर्न व्यक्ती व्यक्ती पक्षको समेत सहमती जुटाउनु पर्ने दुर्भाग्यपुर्ण अवस्थामा फसेको छ । एउटै डुंगामा सवार भएमात्रै नदी पार गरेर कनारामा पुगिन्छ । दुई नाउँमा खुटृा राखेर कसैगरी नदी पार गर्न सकिंदैन । यो तथ्य जान्दा जान्दै अलग अलग नाउमा खुटा राखेर नदि तर्न खोज्ने विचित्रको अभ्यास नेकपामा भइरहेको छ ।

त्यति मात्र होइन, पार्टीलाई आफनो स्वार्थको बलीवेदीमा चढाएर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न बरिष्ठ भनिएकै नेताहरु कहिले यो पक्षको त कहिले उ पक्षको राजनीतिक द्वारपाल बन्ने प्रवृत्तिले पनि नेकपा संकट गहिरिनुमा अहंम भूमिका खेलिरहेको छ । जबसम्म यो राजनीतिक प्रवृत्ति र पात्र बाट नेकपा बाहिर निस्कदैन ,तबसम्म नेकपाको भविष्य संकटमै परिरहन्छ ।

मुलुकमा पटक पटक राजनीतिक परिवर्तन भयो, तर राजनीतिक परिवर्तनले दिएको सन्देश अनुरुप नेत्तृत्वको चिन्तन र चरित्र परिवर्तन हुन सकेन । पार्टीमा सदैव संस्थापन पक्षलाई यो वा त्यो नाममा वागी चरित्रका नेताहरुले घेराबन्दी गरिरहे । त्यसको दुष्परिणाम न पार्टी न सशक्त हुन सके न त सरकारको भूमिका नै प्रभावकारी बन्न सक्यो । त्यसैको सिलसिला कायम रहदा दुइतिहाइ जनमत पाएको सत्तारुढ दलको अवस्था अहिले पनि हरिबिजोग नै छ ।त्यति मात्र होइन पार्टी एकता कुन चरिको नाम हो भन्नु पर्ने अवस्थामा पुगेको नेकपामा सत्ता पक्ष र प्रतिपक्ष एउटै पार्टीमा रहेको रमाइलो दृष्य देख्न पाइन्छ ।

यो सबै समस्याको जड नेकपामा एकल नेतृत्व नभएर नै हो । त्यसैले विभिन्न धुुर्व र धारमा विभाजित नेकपालाई अब एकतावद्ध र एक ढिक्का बनाउने हो भने एकतापछिको विगतलाई निर्ममतापूर्वक समीक्षा गर्दै पार्टीलाई एकल नेतृत्वमा लैजाने आँट र साहस जुटाउन सक्नुपर्छ । तब मात्र नेकपाले मुलुकलाइ एकता बद्ध पार्टि र शशत्त सरकार दिन सक्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);