कृषि विकास बैंकबाट झन्डै पौने पाँच करोड चोरी : ह्याक गर्ने समूहका १२ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८३, शनिबार

कृषि विकास बैंकबाट झन्डै पौने पाँच करोड चोरी : ह्याक गर्ने समूहका १२ जना पक्राउ

krishi bikash bank

काठमाडौं, ९ असोज । प्रहरीले विदेशी ह्याकरले नेपाली बैंकबाट ठूलो रकम ह्याक गर्ने योजना बनाएको र सो योजना असफल भएको बताएको छ ।  महानगरीय अपराध महाशाखाको टोलीले कृषि विकास बैंकको सिस्टमलाई ह्याक गरी निकाल्ने समूहका १२ जनालाई पक्राउ गर्न सफल भएको बताइएको छ ।

महाशाखाले रकम ह्याक गरी विदेश लैजाने योजना बनाउने गिरोहका पक्राउ परेका १२ जनालाई बुधबार सार्वजनिक गरेको हो । महाशाखाका एसएसपी सहकुल थापाले नेपालका बैंकबाट ५ अर्ब रकम लुट्ने योजना बनाएको समूहलाई प्रहरीले पक्राउ गर्न सफल भएको बताए ।

‘विदेशी नागरिक काले भन्ने पिटरले लामो समयदेखि भारतको मुम्बईमा बसी नेपालका बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब रुपैयाँभन्दा बढी रकम ह्याक गरी लैजाने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ महाशाखाका प्रमुख थापाले पत्रकार सम्मेलनमा भने ।

सो समूहले कृषि विकास बैंकबाट ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ ह्याक गरिएको भेटिएको र पानस रेमिट, नयाँ बानेश्वरबाट १२ लाख ह्याक गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको महाशाखा प्रमुख थापाले बताएका हुन् ।

विदेशी ह्याकारको समूहले नेपाली नागरिकलाई प्रयोग गरी कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक, नबिल बैंकलगायतका बैंक तथा वित्तीय संस्थाबाट रकम निकाल्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसएसपी थापाले जानकारी दिए ।  रकम लुट्ने व्यक्तिले १५ देखि ३५ प्रतिशतसम्म रकम कमिसन दिई हुन्डीमार्फत भारत पठाउने गरेको अनुसन्धानका क्रममा भेटिएको प्रहरीले जनाएको छ ।

रकम ह्याकपछि पक्राउ पर्नेमा नुवाकोटका ४३ वर्षीय लवाङ तामाङ, रसुवाकी ४० वर्षीया लक्ष्मीमाया तामाङ, काठमाडौं तार्केश्वर नगरपालिकाका २६ वर्षीय सञ्ज घले, रसुवाको नौकुण्ड गाउँपालिकाका २० वर्षीया निर्मला तामाङ, सोही ठाउँका १८ वर्षीय निमा तामाङ, सर्लाही हरिवनका ४२ वर्षीय पुष्पराज खड्का छन् । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।