यसरी उम्कियो १७ बैंकबाट १७ करोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

यसरी उम्कियो १७ बैंकबाट १७ करोड

hackers

काठमाडौं, २६ मंसिर । अन्तर्राष्ट्रिय आपराधिक गिरोहले अनलाइन ठगी र ह्याकिङबाट संकलित रकम नेपालका १७ वटा बैंकमार्फत विदेश पुर्‍याउने गरेको खुलेको छ । पार्सल आएको भन्दै प्रलोभन देखाएर ठगेको र वित्तीय संस्थाको सर्भर ह्याक गरेर जम्मा पारेको रकम गिरोहले स्थानीय एजेन्टमार्फत विभिन्न व्यक्तिका नाममा राखी बैंकबाटै उम्काइरहेको भेटिएको हो ।

अन्तर्राष्ट्रिय गिरोहमा संलग्न नाइजेरियाली नागरिक पिटर हर्मन र बेलायती नागरिक स्मिथ मोरिसले नेपाली सहयोगीसँग मिलेर १० वर्षदेखि यस्तो ठगी गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले मंगलबार पिटर र स्मिथका सहयोगी तीन नेपालीलाई पक्राउ गरेपछि ठगीको रहस्य बाहिर आएको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले ठमेलमा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका दोलखाका ५२ वर्षीय रमेश खड्का, नवलपरासी रामग्रामका ३७ वर्षीय विश्वेश्वरप्रसाद तिवारी र नवलपरासीकै मनी एक्सचेन्ज सञ्चालक १९ वर्षीय सन्दीप कलवारलाई पक्राउ गरेको थियो । प्रहरीले खड्कालाई काठमाडौंबाटै पक्रेको हो भने तिवारी र कलवार नवलपरासीबाट समातिएका हुन् । प्रहरी स्रोतका अनुसार १० सहयोगीसहित भारतमा बसेर अपराध सञ्जाल चलाइरहेका पिटरलाई पनि केही समयअघि भारतीय प्रहरीले पक्राउ गरिसकेको छ ।

महाशाखा प्रमुख एसएसपी सहकुल थापाले करिब १७ करोड रुपैयाँ बैंकमार्फतै बाहिर गएको प्रमाण भेटिएको बताए । ‘विदेशबाट पार्सल आएको छ भन्दै सर्वसाधारणबाट असुलेको तथा बैंकको सिस्टम ह्याक गरी संकलन गरेको रकम वाणिज्य तथा विकास बैंकको खाताबाट बाहिर गएको देखिन्छ,’ एसएसपी थापाले भने, ‘त्यसका लागि स्थानीय एजेन्टका रूपमा काम गर्नेलाई २० देखि २५ प्रतिशतसम्म कमिसन दिने गरेको पाइयो ।’

एजेन्टहरूले विभिन्न व्यक्तिका नाममा सयवटाभन्दा बढी खाता खोलेको र एकै व्यक्तिका नाममा धेरैवटा खातामा रकम जम्मा गरेको उनले बताए । पिटर र स्मिथ असोजमा कृषि विकास बैंक र पानस रेमिटको सिस्टम ह्याक गरेर करिब ५ करोड रुपैयाँ चोरिएको घटनाका मुख्य योजनाकार भएको प्रहरले जनाएको छ ।

कृषि विकास बैंक र पानस रेमिटको सिस्टम ह्याक गर्ने तथा केही दिनअघि बैंकहरूबाट रकम चोरी गर्ने समूह एउटै भएको प्रहरीको दाबी छ । दुवैको एकसाथ सूक्ष्म अध्ययन गरिरहेको महाशाखाले ह्याकिङको उच्च जोखिम औंल्याउँदै सतर्कता अपनाउन बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);