एजेन्सी, २४ भदौ । सिरियाको विद्रोही नियन्त्रित क्षेत्र इदलिबमा भीषण हवाई हमला भएको छ । सिरिया सरकार र रुसले विद्रोहीको कब्जामा रहेको इदलिबमा हमला गरेका हुन् ।
हमला १० अगस्टयताकै भीषण र हिंसात्मक भएको बताइएको छ ।ठूलो मानवीय क्षति हुनसक्ने भन्दै यसअघि विभिन्न राष्ट्रहरुले आक्रमण नगर्न रुस र सिरियालाई आग्रह गरेका थिए । तर त्यसको बेवास्ता गर्दै विद्रोही क्षेत्रलाई निसाना बनाइएको छ ।दक्षिणी इदलिबमा मात्रै ९ सर्वसाधारणको ज्यान गएको छ ।
तीमध्ये २ बालबालिका छन् । सिरिया र रुसले इदलिबका दक्षिणी भाग र हामा प्रान्तको सीमावर्ती क्षेत्रमा हिंसात्मक आक्रमण गरेका हुन् ।अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार, इदलिब र उत्तरी हामाका १९ वटा ब्यारेलमा बम खसालिएको छ । इदलिब सात वर्षदेखि लडिरहेका विद्रोही र जिहादी नियन्त्रित स्थल हो । मुख्य राजमार्ग संग जोडिएकोले यो क्षेत्रलाई विद्रोहीको हातबाट फुत्काउन सिरिया सरकार र उसका सहयोगी राष्ट्रहरु प्रयासरत छन् ।