नेपाली कब्बडी टोलीको लगातार दोस्रो एसियाड पदक,राज्यको लगानी र सम्मानको अपेक्षा | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

नेपाली कब्बडी टोलीको लगातार दोस्रो एसियाड पदक,राज्यको लगानी र सम्मानको अपेक्षा

कविना बलामी,काठमाडौँ । सीमित स्रोत–साधन र पूर्वाधारको अभावबीच नेपाली महिला कबड्डी टोलीले २०औँ एसियाडमा लगातार दोस्रोपटक पदक जितेर देशलाई खुसी दिएको छ । अन्तर्राष्ट्रिय स्तरमा पुनः उत्कृष्ट प्रदर्शन गर्दै पदक दिलाएको महिला टोलीको सफलतासँगै खेलाडीलाई उचित सम्मान र कबड्डीको विकासका लागि राज्यले आवश्यक लगानी गर्नुपर्ने आवाज उठेको छ ।

कबड्डीमा महिला टोलीले नेपाललाई खुशी पारेको छ । एसियाडको २०औँ संस्करणमा लगातार दोस्रोपटक महिला कबड्डी टोलीले नेपाललाई पदक दिलाएको छ। नेपाली खेलकुदका लागि यो महत्वपूर्ण र दुर्लभ उपलब्धि हो। सीमित स्रोत–साधन, पर्याप्त पूर्वाधारको अभाव र अनेकौँ चुनौतीका बीच नेपाली महिला खेलाडीले अन्तर्राष्ट्रिय मैदानमा गरेको प्रदर्शनले देशको गौरव बढाएको हो । एसियाडमा नेपालले विभिन्न खेलमा सहभागिता जनाउँदै आएको भए पनि पदक जित्ने अवसर सधैँ सहज हुने गरेको छैन। यस्तो अवस्थामा महिला कबड्डी टोलीले लगातार दोस्रोपटक एसियाडमा पदक जित्नु आफैँमा उल्लेखनीय उपलब्धि हो। यसले नेपाली महिला खेलाडीमा रहेको क्षमता र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने सामथ्र्यलाई प्रमाणित गरेको छ।कबड्डी नेपालमा लोकप्रिय खेल भए पनि अन्य केही खेलको तुलनामा यसले राज्य र निजी क्षेत्रबाट अपेक्षित लगानी तथा प्राथमिकता पाउन सकेको छैन। खेलाडीका लागि पर्याप्त प्रशिक्षणस्थल, आधुनिक खेल सामग्री, नियमित प्रशिक्षण, पोषण, स्वास्थ्य सेवा तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी हुने अवसरको अभाव अझै पनि चुनौतीका रूपमा रहेको छ। यस्ता सीमितताबीच खेलाडीले गरेको प्रदर्शनले उनीहरूको मेहनत र समर्पणलाई अझ महत्वपूर्ण बनाएको छ।

महिला कबड्डी टोलीले देशलाई पदक दिलाएको उपलब्धिलाई राज्यले दीर्घकालीन खेल विकास नीतिसँग जोड्न आवश्यक छ। खेलाडीलाई उचित सम्मानसँगै उनीहरूको भविष्य सुरक्षित हुने वातावरण निर्माण गर्नुपर्ने आवश्यक छ ।कबड्डीको एउटा हलसमेत पर्याप्त रूपमा नहुनु नेपाली खेलकुद क्षेत्रका लागि गम्भीर प्रश्न हो। अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने खेलाडीलाई अभ्यास गर्ने व्यवस्थित स्थानसमेत उपलब्ध गराउन नसक्ने अवस्था रहिरहने हो भने खेलाडीबाट ठूलो उपलब्धिको अपेक्षा गर्नु उचित हुँदैन। त्यसैले कबड्डीका लागि आवश्यक पूर्वाधार निर्माण, आधुनिक प्रशिक्षण केन्द्रको विकास र नियमित प्रतियोगिताको आयोजना गर्न राज्यले प्राथमिकता दिन आवश्यक छ ।

महिला कबड्डी टोलीले लगातार दोस्रोपटक एसियाडमा पदक जितेर नेपाली खेलाडीमा क्षमता र सम्भावना पर्याप्त रहेको प्रमाणित गरेको छ। अब खेलाडीको मेहनतलाई केवल पदक जितेको समयमा मात्र सम्झिने होइन, आवश्यक पूर्वाधार, नियमित प्रशिक्षण, आर्थिक सहयोग र उचित सम्मानको व्यवस्था गर्दै राज्यले दीर्घकालीन रूपमा कबड्डीको विकासमा लगानी गर्नुपर्ने देखिन्छ ।

Leave a Reply

ताजा समाचार