कबड्डीमा बढ्दो चर्चा, सीमित लगानीबीच पदकको आशा | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८३, मंगलबार

कबड्डीमा बढ्दो चर्चा, सीमित लगानीबीच पदकको आशा

कविना बलामी,काठमाडौँ । नेपालमा पछिल्लो समय खेलकुद क्षेत्रमा महिला खेलाडीको सहभागिता र सफलता बढ्दै गएको छ। विशेषगरी महिला कबड्डीले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त गरेका उपलब्धिले नेपाली खेलकुदमा नयाँ आशा जगाएको छ। विगत दुई वर्षदेखि सरकारले ‘मिसन २६’ लाई प्राथमिकतामा राखेर खेलाडीलाई प्रशिक्षण, तयारी र अन्तर्राष्ट्रिय सहभागिताका लागि अघि बढाउने प्रयास गरे पनि लगानी र पूर्वाधारका दृष्टिले अझै धेरै सुधार आवश्यक देखिन्छ ।

नेपालले खेलकुदमा पर्याप्त लगानी गर्न नसके पनि सीमित स्रोत–साधनका बीच खेलाडीले अन्तर्राष्ट्रियस्तरमा प्राप्त गरेका उपलब्धि भने उल्लेखनीय छन् । कबड्डी त्यसको एउटा उदाहरण हो । एसियाली खेलकुदको अघिल्लो संस्करणमा नेपालले महिला कबड्डीमा तेस्रो स्थान हासिल गर्नु नेपाली खेलकुदका लागि दुर्लभ र ऐतिहासिक उपलब्धि हो । अन्य खेलको तुलनामा राज्यको न्यून लगानी रहेको कबड्डीले पनि अन्तर्राष्ट्रिय मञ्चमा थप पदक जित्न सक्ने सम्भावना देखाएको छ । पछिल्लो समय कबड्डीप्रतिको आकर्षण र चर्चा पनि बढ्दो छ । सीमित स्रोत–साधन र घरेलु संरचनाबीच प्राप्त उपलब्धिले नेपाली कबड्डीको सम्भावना उजागर् भइसकेको छ । जापानहुने २० आंै एशियाली खेलकुदमा पनि नेपालले पदक जित्ने खेल कबड्डीलाइ नै मानिएको छ । खेलाडीहरू लामो समयदेखि प्रशिक्षणमा व्यस्त छन् । प्रतियोगितालाई लक्षित गर्दै आवश्यक तयारी पनि तीव्र छ । नेपालका महिला तथा पुरुष कबड्डी टोली अहिले भारतमा प्रशिक्षण गरिरहेका छन्। अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागि भारतमा हुने प्रशिक्षणलाई महत्वपूर्ण मानिएको छ । त्यहाँको प्रशिक्षण र अभ्यासले खेलाडीलाई उच्चस्तरीय प्रतिस्पर्धाको अनुभव दिलाउने र आफ्नो कमजोरी सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यसपछि टोली एसियन कपको तयारीका लागि थप अन्तर्राष्ट्रिय अनुभव बटुल्दै अघि बढ्नेछ ।

नेपाली कबड्डी टोलीको तयारी सहज भने छैन । महत्वपूर्ण खेलाडीमध्ये केही अन्तिम समयमा टोलीबाट बाहिरिनुपरेको छ । चोट तथा अन्य कारणले अनुभवी खेलाडी टोलीमा उपलब्ध नहुँदा खेलाडीको संयोजन र रणनीतिमा प्रभाव पर्न सक्छ । यद्यपि टोलीले उपलब्ध खेलाडीलाई समेटेर तयारीलाई निरन्तरता दिइरहेको छ । महासचिवका अनुसार विगतको तुलनामा अहिले राज्यले खेलकुदलाई प्राथमिकतामा राखेको अनुभूति भएको छ । उनीहरूले सरकारबाट अपेक्षा गरेअनुसारको लगानी हुन नसकेको स्वीकार गरे पनि खेलाडीको मनोबल बढाउने र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितालाई प्राथमिकता दिने प्रयास भइरहेको बताएका छन् ।

सीमित स्रोत–साधनका बीच पनि नेपाली कबड्डीले अन्तर्राष्ट्रियस्तरमा देखाएको प्रदर्शन उत्साहजनक छ । एसियाली खेलकुदमा तथा एसियन च्याम्पियनसिपमा पदक नेपाली कबड्डीको सम्भावनाको प्रमाण हो। आगामी प्रतियोगिताका लागि महिला र पुरुष दुवै टोली तयारीमा जुटिरहँदा खेलाडीको मेहनतसँगै राज्यको निरन्तर सहयोग र लगानी आवश्यक छ । खेलाडीले पदक जित्ने लक्ष्यका साथ मैदानमा संघर्ष गरिरहेका बेला सरकारले पनि उनीहरूको मेहनतलाई परिणाममा बदल्ने वातावरण निर्माण गर्न सके नेपाली कबड्डीले आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्न सक्नेछ ।

Leave a Reply