काठमाडौँ ।
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
आईतवार मुख्यमन्त्री यादवले प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णबाट पद तथा गोपनियताको शपथ लिनुभएको हो । जनता समाजवादी पार्टीका संसदीय दलका नेता समेत रहनुभएका यादवलाई प्रदेश प्रमुख कर्णले संविधानको धारा १६८ को ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा शनिवार मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजिनामा दिएपछि प्रदेश प्रमुख कर्णले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रयोजनका लागि मंसिर ४ गते शुक्रवार अपराह्न ४ बजेसम्म दाबी पेश गर्न आह्वान गर्नुभएको थियो । तर सो समयमा कसैले पनि मुख्यमन्त्रीमा दाबी नगरेपछि प्रदेश प्रमुख कर्णले प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री यादव मधेस प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री बन्नुभएको हो ।




