बेलायतको राजधानी लन्डनमा सैन्य खर्च कटौती गर्न र शिक्षा, स्वास्थ्य तथा आवासजस्ता सार्वजनिक सेवामा लगानी बढाउन माग गर्दै शुक्रवार प्रदर्शन भएको छ । बढ्दो जीवनयापन खर्च र सैन्य क्षेत्रमा भइरहेको लगानीको विरोधमा प्रदर्शनकारीहरू मध्य लण्डनका पार्लियामेन्ट स्क्वायर र ट्राफलगर स्क्वायरमा भेला भएका थिए । उनीहरूले ‘युद्धमा होइन, शिक्षामा लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै सरकारको खर्च प्राथमिकतामाथि प्रश्न उठाएका थिए । प्रधानमन्त्रीको सरकारी निवास टेन डाउनिङ स्ट्रिटनजिकै प्रदर्शनकारीहरूले ¥याली निकालेपछि त्यस क्षेत्रमा सवारी आवागमनसमेत प्रभावित भएको थियो । प्रदर्शनका क्रममा आन्दोलनकारी र दक्षिणपन्थी समूहका केही प्रदर्शनकारीबीच झडपसमेत भएको जनाइएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो । घटनाका क्रममा केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रदर्शनमा सहभागी एक व्यक्तिले बेलायतका विश्वविद्यालयहरूले विद्यार्थीबाट सङ्कलन गरेको शुल्क बम र सैन्य क्षेत्रमा खर्च गरिरहेको आरोप लगाएका छन् । विश्वविद्यालयका कर्मचारीको तलब कटौती भइरहेका बेला सैन्य खर्च भने बढ्दै गएको भन्दै उनले सरकारको प्राथमिकताप्रति असन्तुष्टि व्यक्त गरे । त्यस्तै, अर्का प्रदर्शनकारीले युवाहरूले स्वतन्त्र रूपमा आफ्नो रुचिअनुसार जीवन बिताउन, क्षमता विकास गर्न र समाजमा योगदान दिन सक्ने भविष्य निर्माण हुनुपर्ने बताए । तर सरकारको प्राथमिकतामा युवाहरूको भविष्य र उनीहरूका आवश्यकता नपरेको उनको भनाइ थियो । प्रदर्शनकारीहरूले सैन्य क्षेत्रमा बढ्दो खर्चको सट्टा शिक्षा, स्वास्थ्य सेवा र आवासमा सरकारी लगानी विस्तार गर्नुपर्ने माग गरेका छन् । पछिल्लो समय बढ्दो जीवनयापन खर्चका कारण सर्वसाधारणमा परेको आर्थिक दबाबलाई सम्बोधन गर्न पनि उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।




