संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१ औँ सम्मेलन (कोप–३१) को समापन सत्र सम्पन्न भएको छ । शुक्रवार मध्यरातिसम्म चलेको समापन पूर्ण बैठकसँगै सम्मेलनको औपचारिक छलफल टुङ्गिएको हो । सम्मेलनको अन्तिम निष्कर्षपत्र भने सप्ताहान्तसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ । टर्कीको अन्ताल्यामा आयोजित सम्मेलनको समापन सत्रमा अध्यक्ष मुरात कुरुमले जलवायु परिवर्तनका विषयमा ठोस नतिजा हासिल गर्नु सबै पक्षको साझा जिम्मेवारी भएको बताउनु भयो । उहाँले सहमतिका लागि अब धेरै दूरी पार गर्न बाँकी नरहेको उल्लेख गर्दै सबै प्रतिनिधिमण्डललाई आ–आफ्ना प्राथमिकताभन्दा साझा सहमतिमा केन्द्रित हुन आग्रह गर्नुभयो । उहाँले सम्मेलनबाट ‘अन्ताल्या सहमति’ हासिल हुने विश्वास व्यक्त गर्नुभयो । विभिन्न विषयमा लामो समयदेखि गहन छलफल र परामर्श भइरहेको उल्लेख गर्दै उहाँले अब परिणाम दिने समय आएको बताउनु भयो । शुक्रवार सम्मेलनका वार्ता अध्यक्ष क्रिस बोवेनले पनि सहमति जुटाउन आवश्यक परेसम्म वार्ता जारी राख्ने बताउनुभएको थियो । उहाँले प्रतिनिधिमण्डलहरूबीच सहकार्य र सद्भावको वातावरण रहेको उल्लेख गर्दै सहमतिका लागि सकारात्मक प्रयास भइरहेको बताउनु भयो । सम्मेलनमा सार्वजनिक गरिएका पछिल्ला मस्यौदा दस्तावेजमाथि जलवायु वित्त, अनुकूलनका लागि सहयोग, स्वच्छ ऊर्जा, विद्युतीकरण तथा कार्बन उत्सर्जन नियन्त्रणका लागि कार्बन क्याप्चर प्रविधिजस्ता विषयमा छलफल केन्द्रित रहेको थियो । नोभेम्बर ९ देखि सुरु भएको कोप–३१ मा विश्वका करिब २०० पक्षका प्रतिनिधिहरू सहभागी भएका थिए । जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका लागि यसअघि गरिएका प्रतिबद्धता कार्यान्वयन गर्ने उपाय र त्यसका लागि आवश्यक सहयोग जुटाउने विषयलाई सम्मेलनले प्राथमिकता दिएको थियो । सम्मेलनको अन्तिम निष्कर्षपत्र सार्वजनिक भएपछि जलवायु वित्त, अनुकूलन सहयोग र स्वच्छ ऊर्जासम्बन्धी विषयमा विश्व समुदायले के–कस्ता साझा प्रतिवद्धता गरेको छ भन्ने स्पष्ट हुनेछ ।




