महिला एसियन कप छनोट : नेपाल र फिलिपिन्स भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

महिला एसियन कप छनोट : नेपाल र फिलिपिन्स भिड्दै

काठमाडौं । एएफसी महिला एसियन कप छनोट २०२२ अन्तर्गत नेपालले आज फिलिपिन्सको सामना गर्दैछ । शनिबार समूह एफअन्तर्गत उज्वेकिस्तानको तास्केन्तमा हुने खेल स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ । 

समूह एफ को पहिलो खेलमा दुबै टोली जित निकाल्दै सुखद् सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । नेपालले दोस्रो खेलमा मंगलबार हङकङसँग खेल्नेछ । मुख्य खेलाडी तथा स्ट्राइकर सावित्रा भण्डारीबिना नेपालले समूह एफ मा रहेका फिलिपिन्स र हङकङसँग प्रतिस्पर्धा गर्ने भएको हो । 

पक्कै पनि सावित्राको अभावमा नेपालको अग्रपंक्तिमा समस्या हुने नै छ । गत हप्ता भएको दुई मैत्रीपूर्ण खेलले त्यसलाई जनाइसकेको छ । नेपालले खेलेको बंगलादेशविरुद्धको एक खेल जसोतसो जितेको थियो भने अर्काे खेल बराबरीमा समाप्त भएको थियो । 

यस्तो अवस्थामा नेपाली टोलीका प्रशिक्षक ग्यारी फिलिप्स राम्रो प्रदर्शन गर्नेमा केन्द्रीत छन् । उनी महिला फुटबलको लागि एसियन छनोट राम्रो अवसर रहेको बताउँदै नयाँ खेलाडीको सहभागिताले टोलीमा नयाँ उर्जा थपेको बताउँछन् । 

‘नेपाली महिला फुटबलको लागि यो एउटा अवसर हो । महिला फुटबल प्रबर्द्धनको लागि मात्र होइन आफ्नो खेल र क्षमता देखाउने अवसर छ । नयाँ र युवा खेलाडीको सहभागिताले टोलीमा नयाँ उर्जा थपिएको छ । हामी राम्रो खेल प्रदर्शन गर्नेमा बिश्वस्त छौं,’ ग्यारीले भने । 

यसअघि एसियन कप छनोटका लागि प्रशिक्षक फिलिप्सले ४५ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका थिए । उनले दोस्रो चरण सँगै छनोटका लागि अन्तिम २३ नाम सार्वजनिक गरेका हुन् ।

जसमा ७ नयाँ अनुहार समेत रहेका छन् । गत साता बंगलोदशविरुद्ध भएको खेलमा ५ खेलाडीले डेब्यु गरे । स्ट्राइकर रश्मि घिसिङ, प्रिती राई, सविता राना मगर, सृजना सिंह ठकुरी र रजनी थोकरले राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् । 

ग्यारीको २३ सदस्यीय टोलीमा अब नयाँ खेलाडीमा डिफेण्डरद्वय निशा थोकर र विमला विक डेब्यु गर्न बाँकी छ । यस्तै टोलीको नियमित तेस्रो रोजाईकी गोलरक्षक उषा नाथलेसमेत राष्ट्रिय टोलीको डेब्यु पर्खाइमा छिन् ।

यता, नेपालसँग खेल्ने फिलिपिन्स र हङकङले समेत छनोटमा राम्रो प्रदर्शन दिने बताएका छन् । दुबै टोलीले आफ्नो लक्ष्य भारतमा हुने एसियन कपमा रहेको बताएका छन् । समूह एफ बाट एक टोली छनोट हुनेछ । 

यसअघि नेपाली महिला राष्ट्रिय टोलीले सन् १९८६ मा एएफसी महिला च्याम्पियनसिपमार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको थियो । जहाँ नेपाल हङकङसँग १–० ले पराजित भएको थियो । नेपाली महिला टोलीले त्यसपछि लगातार तीन पटक (सन् १९८६, १९८९ र १९९९) मा एसियन कप खेलेको थियो । तीनै पटक नेपालको यात्रा समूह चरणमा सीमित भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);