काठमाडौँ ।
मुलुकभरको मौसमी प्रणालीमा फेरबदल आएसँगै आज देशका अधिकांश भू–भागमा साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाकाअनुसार कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पछिल्लो मौसमी विवरणअनुसार आज दिउँसो कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगमा समेत बदली रहने तथा उच्च हिमाली क्षेत्रमा भने आंशिक बादल लाग्ने देखिएको छ । देशका अधिकांश तराई क्षेत्रमा पनि दिउँसो साधारणतया मौसम बदली रहने महाशाखाको भनाइ छ । वर्षाको अवस्था विश्लेषण गर्दा कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा र उच्च हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ । देशका समग्र तराई भू–भागका एक–दुई स्थानमा समेत मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी, रात्रिकालीन मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले कोशी, मधेस, वागमती र गण्डकी प्रदेशका सबै भू–भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एवं तराई भू–भागमा साधारणतया बदली रहने जनाएको छ । राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षा हुनेछ भने उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको आकलन गरिएको छ । तराई क्षेत्रमा भने बिहानीपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ । मधेस प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका थोरै स्थानहरू र कोशी तथा सुदूरपश्चिम प्रदेशका तराई भेगका एक–दुई स्थानमा रात्रिकालीन मध्यम वर्षाको सम्भावना रहेकाले दैनिक जनजीवन तथा यातायातमा पर्न सक्ने असरप्रति आवश्यक शतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।




