देशभर बदलीः पहाडी र हिमाली भू–भागमा वर्षा तथा हिमपातको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८३, सोमबार

देशभर बदलीः पहाडी र हिमाली भू–भागमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल नेपालको मौसममा उल्लेखनीय परिवर्तन भई देशभर बदलीको अवस्था रहेको छ । महाशाखाले जारी गरेको पछिल्लो बुलेटिनअनुसार आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका क्षेत्रहरूमा समेत बादल लाग्ने पूर्वानुमान गरिएको छ भने कोशी, मधेस र वागमती प्रदेशका तराई भेगमा आंशिक बदली रहनेछ । महाशाखाकाअनुसार पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थानहरू तथा कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा समेत वर्षाको सम्भावना रहेको छ । आज राति देशभरको मौसम साधारणतया बदली रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ भने यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत जोखिम रहेको महाशाखाले जनाएको छ । यसैगरी, मधेस र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा वागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको आँकलन गरिएको छ । हिमाली क्षेत्रका केही स्थानमा समेत वर्षा र हिमपात हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

Leave a Reply

ताजा समाचार