राजनीति

चार प्रदेशका पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

काठमाडौं ।

देशका कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आज मध्यमस्तरसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज देशका अधिकांश भेगको मौसममा फेरबदल आउने देखिएको छ । विशेषगरी कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागहरूमा साधारणतया बदली रहने र ती क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षा तथा हिमपातको आकलन गरिएको छ । महाशाखाको मौसमी बुलेटिन अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ । त्यस्तै, ती दुई प्रदेशका उच्च हिमाली र पहाडी भेगका एक–दुई स्थानमा भने हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । तराईका भू–भागमा भने दिनभर आंशिक बदली रहने र लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही सीमित स्थानमा छिटपुट हल्का वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । यसैगरी रातिको समयमा मौसमी गतिविधि अझ विस्तार हुने सम्भावना छ । राति कोशी, मधेस, वागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागमा साधारणतया मौसम धुम्म रहनेछ । बाँकी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । रातिको समयमा कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना कायमै रहनेछ। साथै कोशी र वागमती प्रदेशको हिमाली भू–भाग, कर्णाली र सुदूरपश्चिमको पहाडी भेग, सुदूरपश्चिमको तराई क्षेत्र तथा मधेस प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने बताइएको छ । मौसममा आएको यस परिवर्तनसँगै बिहानीपख तराईका भू–भागहरूमा बाक्लो हुस्सु लाग्ने भएकाले सडक तथा हवाई यातायात र दैनिक जनजीवनमा सामान्य असर पर्नसक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

Related Post
Share

This website uses cookies.