देशको पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८३, बिहीबार

देशको पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौं ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न पहाडी तथा हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । महाशाखाद्वारा जारी बुलेटिनअनुसार दिउँसो देशभरका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । मधेस प्रदेशसहित कोशी, वागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने भए पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा भने मौसम मुख्यतया सफा रहने देखिन्छ । कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यस्तै, कोशी प्रदेशको तराईका थोरै स्थान र मधेस प्रदेशका एक–दुई स्थानमा समेत मेघगर्जनसहित वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने तापक्रम बढ्ने र तातो हावा चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । आज राति कोशी प्रदेशमा साधारणतया बदली रहनेछ भने अन्य पहाडी भू–भाग र मधेश प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू तथा वागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना रहेको छ । तराईका बाँकी क्षेत्रमा भने रातिको समयमा मौसम मुख्यतया सफा रहनेछ ।

Leave a Reply