क्रोएसिया र रुस विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

क्रोएसिया र रुस विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश

russia

काठमाडौं, १८ असार । क्रोएसिया र आयोजक रुस विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएका खेलमा क्रोएसिया र रुस टाइब्रेकरमा आफ्ना प्रतिस्पर्धीलाई पराजित गरी क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् । आयोजक रुसले पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुग्ने क्रममा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित गरेको छ । निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएकाले थप गरिएको ३० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।

गोलकिपर इगर एकिनफिवले स्पेनका कोको र असपासको पेनाल्टी रोकेपछि रुसले क्वार्टरफाइनलको टिकट काटेको हो । रुसका खेलाडीले भने पेनाल्टीको अवसर खेर फालेनन् । त्यसअघि स्पेनले खेलको १२ औं मिनेटमा इगानसेभिचको आत्मघाती गोलमा अग्रता लिएको थियो । रुसका डीजुबाले खेलको ४१ औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काएकामा त्यसपछि दुवै टोलीका तर्फबाट निर्धारित र थप गरिएको समयमा गोल हुन सकेन ।

गएराति नै भएको अर्को खेलमा डेनमार्कलाई पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गरी क्रोएसियाले क्वार्टरफाइनलमा रुससँगको भेट पक्का गरेको छ । शुरुवाती चार मिनेटमा १/१ गोल गरेका क्रोएसिया र डेनमार्कले त्यसपछिको १ सय १६ मिनेटसम्म गोल थप गर्न नसकेपछि खेलमा पेनाल्टी सुटआउटबाट निर्णय लिइएको हो । थप गरिएको समय सकिन ३ मिनेट बाँकी छँदा क्रोएसियाले जितको मौका पाएको थियो ।

कप्तान लुका मोडरिकले प्रहार गरेको पेनाल्टी डेनमार्कका गोलकिपरले बचाए । डेनमार्कका गोलकिपरले पेनाल्टी सुटआउटमा समेत क्रोएसियाका दुई वटा प्रहारलाई विफल पारे । तर आफ्ना खेलाडीले पेनाल्टीको अवसर खेर फाल्दा डेनमार्क पराजित हुन पुग्यो । विश्वकप अन्तर्गत आज ब्राजिल र मेक्सिकोबीच राति ७ः४५ बजे तथा बेल्जियम र जापानबीच राति ११ः४५ बजे खेल हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);