स्विट्जरल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

स्विट्जरल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

एजेन्सी । साविक उपविजेता फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति भएको प्रि–क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो । रोमान्चक खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गरे । तर, केलियन एमबाप्पे पेनाल्टीमा गोल गर्न चुके । यता स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन, अकान्जी म्यानुएल, रुबेन भेर्गास र एडमिर मेहमेदीले पेनाल्टीमा गोल गरे ।

पेनाल्टीमा जानु अघि खेलमा सुरुवाती अग्रता स्विट्जरल्यान्डले बनाएको थियो । खेलको १५ औं मिनेटमा हरिस सेफेरोभिचले गोल गर्दै स्विट्जरल्यान्डलाई १–० गोलको अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै फ्रान्सलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ५९ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दा फ्रान्सले २–१ को अग्रता बनायो ।

खेलको ७५ औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै फ्रान्सलाई ३–१ गोलको अग्रता दिलाए । पोग्बाले बक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए । तर खेलको ८१ औं मिनेटमा केभिनको पासमा स्विट्जरल्यान्डका सेफेरोभिचले हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ९० औं मिनेटमा स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिचले गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा सकियो । र, खेल अतिरिक्त समयमा गएको थियो । यससँगै स्विट्जरल्यान्ड क्वाटरफाइनलमा पुग्ने छैटौं टिम बनेको छ ।

विश्व विजेता फ्रान्स भने राउण्ड अफ १६ बाट बाहिरिएको छ । अब स्विट्जरल्यान्डले क्वाटरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम आठमा प्रवेश गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);