यमनमा भीषण झडप र हवाई आक्रमण, विभिन्न क्षेत्रमा ६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १९ २०८३, बिहीबार

यमनमा भीषण झडप र हवाई आक्रमण, विभिन्न क्षेत्रमा ६ जनाको मृत्यु

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको द्वन्द्व चर्किँदै जाँदा दक्षिणी तथा दक्षिणपश्चिमी क्षेत्रमा भएका झडप र हवाई आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । दक्षिणी लाहिज र दक्षिणपश्चिमी ताइज प्रान्तमा भएका आक्रमणमा सर्वसाधारणसमेत हताहत भएको सैन्य तथा हुथी सञ्चारमाध्यमहरूले जनाएका छन् । यमनको सरकारी सेनाका एक अधिकारीकाअनुसार हुथी विद्रोहीले सरकारी नियन्त्रणमा रहेको लाहिज प्रान्तको एक सार्वजनिक बजारमा दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेका थिए । उक्त आक्रमणमा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । यता, हुथी समूहद्वारा सञ्चालित अल मसिराह टेलिभिजनकाअनुसार ताइज सहरको उत्तरी क्षेत्रमा रहेको प्लास्टिकका जुत्ता उत्पादन गर्ने कारखानामा हवाई आक्रमण भएको थियो । आक्रमणमा तीन जनाको मृत्यु र आठ जना घाइते भएको उक्त सञ्चारमाध्यमले जनाएको छ । आक्रमण साउदी लडाकु विमानबाट गरिएको दाबी गर्दै टेलिभिजनले घटनास्थलमा लागेको आगो नियन्त्रण गर्न उद्धारकर्मी खटिएको जनाएको छ ।
त्यस्तै, ताइजको दक्षिणी क्षेत्रमा रहेको अश शामायतायन जिल्लामा भएको अर्को हवाई आक्रमणमा एक महिलासहित दुई जनाको मृत्यु भएको र पाँच जना घाइते भएको अल मसिराहले उल्लेख गरेको छ । यी आक्रमणसँगै ताइज–लाहिज मोर्चामा सरकारी सेना र हुथी विद्रोहीबीचको भिडन्त थप तिब्र बनेको छ । हुथी लडाकुहरू ताइजको पहाडी क्षेत्र अल मकातिराह हुँदै सरकारी नियन्त्रणमा रहेको तुर अल बहाहतर्फ अघि बढिरहेका छन् । उक्त क्षेत्र हुँदै दक्षिणी बन्दरगाह सहर अदन पुग्ने मार्गहरू रहेका छन् । साउदी नेतृत्वको गठबन्धनको समर्थन प्राप्त सरकारी सेनाले हुथी विद्रोहीको अग्रगमन रोक्ने प्रयास गरिरहेको छ । पछिल्लो समय यमनका विभिन्न मोर्चामा स्थलयुद्ध र हवाई आक्रमण बढ्नुका साथै सरकारी नियन्त्रणमा रहेका क्षेत्र तथा साउदी अरबका विभिन्न लक्ष्यमा हुथी क्षेप्यास्त्र र ड्रोन आक्रमणसमेत भइरहेका छन् । यसैबीच, हुथी समूहले मंगलबार साउदी अरबमाथि कुनै आक्रमण नगरेको दाबी गरेको छ । पवित्र शहर मक्कालाई लक्षित गरी आक्रमण गरेको भन्ने आरोपलाई समेत समूहले अस्वीकार गरेको छ । हुथी सैन्य प्रवक्ता याह्या सरियाले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो समूहले उक्त दिन साउदी भूमितर्फ कुनै सैन्य कारबाही नगरेको बताएका छन् । सन् २०१४ को अन्त्यतिर हुथी विद्रोहीले यमनको राजधानी साना र उत्तरी क्षेत्रका ठूलो भूभाग नियन्त्रणमा लिएपछि देशमा द्वन्द्व शुरु भएको हो । त्यसपछि अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारको समर्थनमा सन् २०१५ मा साउदी नेतृत्वको गठबन्धनले सैन्य हस्तक्षेप गरेको थियो । त्यसयता यमनमा द्वन्द्व जारी छ ।

Leave a Reply