यमनको उत्तरी प्रान्त अल–जौफमा बुधवार भएको भीषण हवाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १० जनाभन्दा बढी घाइते भएका छन् । हुथी विद्रोहीद्वारा सञ्चालित अल–मसिराह टेलिभिजनकाअनुसार उक्त आक्रमणले प्रान्तीय राजधानी अल–हाजमस्थित एक सार्वजनिक बजार र नजिकैको इन्धन केन्द्रलाई लक्षित गरेको थियो । हवाई आक्रमणका कारण उक्त क्षेत्रमा ठूलो मानवीय क्षति भएको छ । शुरुमा १२ जनाको मृत्यु भएको बताइए पनि पछि मृतकको संख्या १४ पुगेको र सो संख्या अझ बढ्न सक्ने स्थानीय अधिकारीहरूले जनाएका छन् । पीडितहरूमा महिला र बालबालिकाहरू समेत रहेको रिपोर्टमा उल्लेख छ । आक्रमणका कारण बजार क्षेत्र र इन्धन केन्द्रमा ठूलो भौतिक संरचनामा समेत क्षति पुगेको छ । यद्यपि, हुथी सञ्चारमाध्यमले सार्वजनिक गरेको यो विवरणको स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ । यस घटनाका सम्बन्धमा साउदी अरब नेतृत्वको गठबन्धनले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । यो पछिल्लो आक्रमण यस्तो समयमा भएको छ जब हुथी विद्रोही र साउदी समर्थित यमनी सरकारी फौजबीच सीमापार आक्रमणका घटनाहरू तिब्र बनेका छन् । सन् २०१४ को अन्त्यमा हुथी विद्रोहीले राजधानी साना र उत्तरी यमनका अधिकांश भाग कब्जा गरेपछि यो मुलुक लामो समयदेखि द्वन्द्वको चपेटामा छ । सन् २०१५ मा साउदी नेतृत्वको गठबन्धनले यमनी सरकारको समर्थनमा सैन्य हस्तक्षेप शुरु गरेयता यमनमा हजारौंको ज्यान गइसकेको छ भने लाखौं मानिस विस्थापित भएका छन् । निरन्तरको हवाई आक्रमण र भूमिगत लडाइँले यमनलाई विश्वकै सबैभन्दा खराब मानवीय संकटको भूमरीमा धकेलेको छ ।
This website uses cookies.