कृत्रिम बौद्धिकता (एआई) को विकास तथा डिजिटल प्रविधिमा साझा सहकार्यलाई प्रवद्र्धन गर्न चीनमा आयोजित विश्व इन्टरनेट सम्मेलनमा सहभागीहरूले खुला प्रविधि र सामूहिक नवप्रवर्तनमा जोड दिएका छन् । चीनको पूर्वी झेजियाङ प्रान्तस्थित वुझेनमा मंगलबारदेखि सुरु भएको सन् २०२६ को विश्व इन्टरनेट सम्मेलन (डब्लूआईसी) वुझेन शिखर सम्मेलनमा सहभागी प्रतिनिधिहरूले एआई विकासमा खुला सहकार्य आवश्यक रहेको बताएका हुन् । ‘खुला स्रोत र खुलापन, संयुक्त योगदान र साझा लाभ ः साइबर स्पेसमा साझा भविष्यको समुदाय निर्माण’ भन्ने नाराका साथ शुरु भएको सम्मेलनमा १३८ देश तथा क्षेत्रका करिब एक हजार ८०० प्रतिनिधि सहभागी छन् । सम्मेलनमा जीएसएमए लिमिटेडका अध्यक्ष तथा निर्देशक जोन हफम्यानले खुला प्रविधि र खुला स्रोत क्षमताको विकासमा चीनले महत्वपूर्ण भूमिका खेलिरहेको बताए । उनले विश्वव्यापीकरण र ठूलो परिमाणमा उत्पादन तथा प्रविधिको प्रयोगले उद्योगको विकासलाई गति दिनुका साथै लागत घटाउन सहयोग पुगेको उल्लेख गरे । मोबाइल प्रविधिका विभिन्न पुस्ताको विकाससँगै विश्वलाई एउटै प्रविधिगत प्रणालीमा जोड्न सम्भव भएको उनको भनाइ थियो । त्यस्तै, यूक्लाउड टेक्नोलोजीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जी सिन्ह्वाले एआईको तिब्र विकाससँगै यसको शासन, सुरक्षा र नियमन प्रमुख चुनौतीका रूपमा देखिएको बताए । मानव बुद्धिमत्ता र कृत्रिम बुद्धिमत्ताबीच सहकार्य कसरी सम्भव बनाउने तथा मानव र एआईबीच सहअस्तित्व कसरी कायम गर्ने भन्ने विषयमा गम्भीर विचार गर्नुपर्ने उनले बताए । एआईको सुरक्षा र प्रभावकारी नियमनका लागि सामूहिक सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले यससम्बन्धी कानून तथा नियम निर्माण र दीर्घकालीन योजनामा जोड दिए । सम्मेलनमा खुला स्रोत प्रविधि, डिजिटल सहकार्य, एआई सुरक्षा तथा साइबर स्पेसको भविष्यलगायत विषयमा छलफल भइरहेको छ ।





