दक्षिण अफ्रिकाको केप टाउनमा ‘अफ्रिकन माइनिङ वीक २०२६’ को भव्य शुरुवात भएको छ । तीन दिनसम्म चल्ने यो सम्मेलनले अफ्रिकाको खनिज सम्पदाको पूर्ण उपयोग गर्न क्षेत्रीय सहकार्य, लगानी अभिवृद्धि र औद्योगिक विकासमा केन्द्रित हुनुपर्ने सन्देश दिएको छ । केप टाउन इन्टरनेसनल कन्भेन्सन सेन्टरमा बुधवारदेखि शुरु भएको यस सम्मेलनको मुख्य नारा ‘माइनिङ द फ्युचरः अनअर्थिङ अफ्रिकास फुल मिनरल भ्यालु’ (भविष्यको खानीः अफ्रिकाको खनिज मूल्यको खोजी) रहेको छ । सम्मेलनमा खानी उद्योगका नेतृत्वकर्ता, सरकारी अधिकारी, लगानीकर्ता र परियोजना विकासकर्ताहरूको सहभागिता छ । उद्घाटन सत्रमा बोल्दै युगान्डाकी ऊर्जा तथा खनिज विकास मन्त्री मोनिका मुसेनेरो मासान्जाले अफ्रिकाले आफ्नो खनिज स्रोतप्रतिको दृष्टिकोण बदल्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘हामीले केवल खनिज पदार्थको उत्खननमा मात्र सीमित नभई खनिजको पूर्ण मूल्य श्रृंखला बुझेर तदनुरूप औद्योगिक विकास गर्न आवश्यक छ ।’
सम्मेलनमा प्रश्तुत तथ्यांकअनुसार विश्वको कुल खनिज भण्डारको ३० प्रतिशत अफ्रिकामा रहेको छ, जसमध्ये ८.६ ट्रिलियन अमेरिकी डलर बराबरको खनिज स्रोत अझै अविकसित अवस्थामा छ । इजिप्टका उद्योग उपमन्त्री मोहम्मद जादाले अफ्रिकाको यो अपार सम्भावनालाई औद्योगिक विकासमा रूपान्तरण गर्नुपर्ने औँल्याए । उनले खानीबाट प्राप्त कच्चा पदार्थलाई प्रशोधन गरेर अन्तिम उत्पादनसम्म पु¥याउने एकीकृत प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिए । सम्मेलनमा प्रदर्शनी, रणनीतिक तथा प्राविधिक सम्मेलन, औद्योगिक फोरम, राउन्डटेबल छलफल र लगानीकर्ताहरूलाई लक्षित गर्दै विभिन्न परियोजना प्रस्तुतीकरणहरू समावेश गरिएका छन् । यसले अफ्रिकी मुलुकहरूलाई क्षेत्रीय एकीकरणमार्फत खनिज क्षेत्रको चुनौती सामना गर्न साझा मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ ।




