काठमाडौँ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवनस्तर उकास्ने, उत्पादन बढाउने र दिगो आम्दानी सुनिश्चित गर्ने आर्थिक आधार निर्माण गर्नु नै मुलुकको प्राथमिक दायित्व भएको बताउनुभएको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा नेकपा(एमाले) को नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजानीकीकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केवल पहिचानको बहसमा अल्झिनुको सट्टा नागरिकको जीवनस्तर काममा लाग्नुपर्ने बताउनु भयो । उहाँले विपन्नतालाई दिगो समृद्धिमा रूपान्तरण गर्न नीतिगत स्पष्टता र उत्पादनमुखी रोजगारी अपरिहार्य रहेको स्पष्ट पार्नुभयो ।
ओलीले राजनीतिक तथा नीतिगत विमर्शहरू आम जनताको आधारभूत आवश्यकता पूरा गर्ने दिशातर्फ लक्षित हुनुपर्नेमा जोड दिनुभयो । गरिबी उन्मूलन केवल नारामा सिमित हुन नसक्ने उल्लेख गर्दै उहाँले परिवारको आर्थिक सुरक्षा सुनिश्चित गर्न सक्ने गुणस्तरीय रोजगारी सिर्जना गर्नु राज्यको प्रमुख कार्यभार हुनुपर्ने बताउनु भयो । अध्यक्ष ओलीले रोजगारीको वास्तविक मूल्य बिताइएको समयले नभई त्यसबाट आर्जन हुने पर्याप्त आम्दानीले निर्धारण गर्ने बताउनु भयो । अध्यक्ष ओलीले आफ्ना राजनीतिक तथा सामाजिक मान्यताहरूको मूल आधार ‘मानवतावाद’ भएको उल्लेख गर्दै हरेक नागरिकलाई गाँस, बास, कपास, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा समान पहुँच प्रत्याभुत गर्नु राज्यको कर्तव्य भएको बताउनु भयो ।





