लाट्भियामा नयाँ सरकार गठनका लागि प्रधानमन्त्री कुलबर्ग्स मनोनीत | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १९ २०८३, बिहीबार

लाट्भियामा नयाँ सरकार गठनका लागि प्रधानमन्त्री कुलबर्ग्स मनोनीत

लाट्भियाका राष्ट्रपति एडगर्स रिन्केभिक्सले वर्तमान प्रधानमन्त्री एन्ड्रिस कुलबग्र्सलाई नयाँ सरकार गठनका लागि औपचारिक रूपमा मनोनीत गर्नुभएको छ । राष्ट्रपति रिन्केभिक्सले बुधबार कुलबग्र्सलाई आगामी सरकार गठनको जिम्मेवारी दिनुभएको हो । अक्टोबरमा सम्पन्न संसदीय निर्वाचनमा कुलबग्र्स नेतृत्वको युनाइटेड लिस्ट पार्टीले फराकिलो मतान्तरसहित विजय हासिल गरेको थियो । यद्यपि, संसद्मा स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनका लागि अन्य दलसँग गठबन्धन गर्नुपर्ने अवस्था आएको छ । मंगलवार नवनिर्वाचित संसद बैठक शुरु भएसँगै संवैधानिक व्यवस्थाअनुसार कुलबग्र्स नेतृत्वको मन्त्रिपरिषद्ले राजीनामा दिएको थियो । नयाँ सरकार गठन भएर स्वीकृत नहुँदासम्म वर्तमान मन्त्रिपरिषद्ले कामचलाउ सरकारका रूपमा कार्य सञ्चालन गर्नेछ । निर्वाचनपछि नै राष्ट्रपति रिन्केभिक्सले कुलबग्र्सलाई गठबन्धन निर्माणका लागि छलफल अघि बढाउन आग्रह गरेका थिए । तर संवैधानिक प्रक्रियाअनुसार वर्तमान सरकारले औपचारिक रूपमा राजीनामा दिएपछि मात्रै राष्ट्रपतिले उनलाई प्रधानमन्त्रीका रूपमा मनोनीत गरेका हुन् । राष्ट्रपति रिन्केभिक्सले आगामी चार वर्षे कार्यकालभरि स्थिर सरकार कायम रहने विश्वास व्यक्त गरेका छन् । मनोनीत भएपछि कुलबग्र्सले सम्भावित गठबन्धन साझेदार दलहरूसँग वार्ता अघि बढाउने अपेक्षा गरिएको छ। राष्ट्रपति रिन्केभिक्स र कुलबग्र्स दुवैले नोभेम्बर १८ मा मनाइने लाट्भियाको स्वतन्त्रता दिवसअघि नै नयाँ गठबन्धन सरकार गठन गर्ने लक्ष्य राखेका छन् ।

Leave a Reply