रोल्पामा ४ जना बालबालिकाको ज्यान जाँदा पनि संघीय सरकार किन मौन ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

रोल्पामा ४ जना बालबालिकाको ज्यान जाँदा पनि संघीय सरकार किन मौन ?

rolpa bomb blast

सम्पादकीय

काठमाडौं, २० वैशाख । सशस्त्र संघर्षको अन्त्य भएको १४ वर्ष पुरा भएपनि अनाहकमा नागरिकले ज्यान गुमाउने क्रम अझै रोकिएको छैन । बिस्तृत शान्ति सम्झौतामार्फत सेना तथा हतियार व्यवस्थापन गर्न भनिएपनि बेवारीसे युद्ध सामाग्रीले युद्धको घाउ बल्झाइरहेको छ । बेवारीसे बिस्फोटक पर्दार्थका कारण रोल्पामा अनाहकमा ४ जना बालबालिकाले ज्यान गुमाएका छन् । अनाहकमा सर्वसाधारणको ज्यान जांदा पनि कसको कमजोरीले यस्तो भएको हो ? अहिलेसम्म सरकार केही बोलेको छैन ।

युद्धसंग सबै समस्याको समाधान गर्न भनिएपनि युद्धका नजिरहरुले बेला बेलामा पोलिरहेको छ । यस्तै युद्धताका बेवारिसे छोडिएको बिस्फोटक पदार्थले बिहीबार अबोध बालबालिकाको अनाहकमा ज्यान लिएको छ । सशस्त्र संघर्षको उद्गम स्थल रोल्पाको त्रिवेणी गाउपालिका ७ गैरीगाउँमा अबोध बालबालिकाको बेवारीसे बिस्फोट पर्दाथले ज्यान लिएको छ ।

गाउँ नजिकै जंगलमा बाख्रा चराउन गएको बेला बेवारिसे बम खेलाउदा उनीहरुको ज्यान गएको हो ।बमले कलिला निर्दाेष बालपनको ज्यान लिएको छ, युद्धको त्रासदीलाई पुनः जबरजस्त झस्काइदिएको छ । लामो सशस्त्र संघर्षको लप्काले छिया छिया बनेको रोल्पा पछिल्लो समय बिस्तारै विकासको लयमा हिडिरहेको थियो ।

शान्ति प्रक्रियापछि केही भौतिक विकास पनि भएको रोल्पामा युद्धकालीन बिस्फोटक पदार्थको खोजविन र निष्क्रिय पार्ने काम नहुँदा बिहीबार ४ बालबालिकाको अनाहकमा मृत्यु भएको छ । युद्धको अवशेषले त्रिवेणी गाउँपालिका ७ का १४ वर्षीय लोकीराम डाँगी, ११ वर्षीय विमला डाँगी, ५ वर्षीय विजय खत्री र त्रिवेणी ४ का गौरव नेपालीको प्राणपखेरु चुडेर लगेको छ ।

जंगलमा छोडिएका बेवारिसे बिस्फोटक पदार्थ समयमै सही व्यवस्थापन नहुँदा विपन्न अभिभावकले बालबच्चा गुमाएका छन् । बिस्फोटकबाट नाबालकको ज्यान गैसकेको छ । यसबाट अभिभावकमा पर्न गएको गम्भीर क्षति अपूरणीय छ । यद्यपी संघीय सरकारले यो दुघर्टनाको विषयमा विज्ञप्ती समेत छाप्न इच्छ देखाएन । तीनै अभिभावको काँधमा बन्दुक बोकाएर सिंहदरबार छिरेको सरकारले युद्धको अवशेषबाट अभिभावकले सन्तान गुमाउदा बेखबर बनेको छ । खैर आखिर दुर्घटना भयो, मानवीय क्षति भएको छ ।

यो क्षतिमा मलहम लगाउन क्षतिपूर्तिसंगै अभिभावकलाई अवसरको समेत व्यवस्था गरि पीडामा मलहम लगाइनुपर्छ । भावी दिनमा हुन सक्ने यस्ता गम्भीर दुर्घटनाको सही व्यवस्थापन गर्न राज्यको ध्यान पुग्न आवस्यक छ । युद्धकालीन समयमा तत्कालीन माओवादीको सुरक्षित गन्तव्य मानिने यस क्षेत्रमा हुन सक्ने यस्ता बिस्फोटक पदार्थको खोजविन गरी निष्कृय पार्ने काम समेत भएका छैनन् ।

राज्यले संभावित यस्ता बेवारिसे हतियारको लेखाजोखा गरी सही व्यवस्थापन गर्न अब बढी संवेदनशिल बन्न आवस्यक छ । यसको साथै युद्धकालीन समयमा राज्य तथा विद्रोही पक्षबाट पीडित भएका युद्धपीडितहरुलाई संक्रमणकालीन न्याय दिन सरकारले छिटो पहलकदमी लिन समेत आवस्यक छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);