फ्रान्सबाट आएकी युवती जसको सावधानीले फैलिन पाएन संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

फ्रान्सबाट आएकी युवती जसको सावधानीले फैलिन पाएन संक्रमण

corona virous

काठमाडाैं, २६ चैत । फ्रान्सबाट आएकी युवतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन् । यस्तो शैलीले कोरोना नियन्त्रण हुन सक्दैन भनेर उनले सरकारको ध्यानाकर्षण पनि गराएकी थिइन् । यति मात्र होइन, परिवारसँग समेत उनले दूरी कायम गरेकोले संक्रमण फैलिन पाएन । परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

४ चैतमा फ्रान्सबाट आएकी काठमाडौं मैतिदेवीकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको थियो । नेपालमा यो दोस्रो केस थियो । उनले विमानस्थलदेखि नै सावधानी अपनाउँदा कसैलाई संक्रमण नभएको ‘कन्ट्याक्ट ट्रेसिङ’बाट पुष्टि भएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. वासुदेव पाण्डले भने, ‘सावधानी अपनाउँदा उहाँबाट कसैलाई पनि संक्रमण भएन, सचेत हुनुहुँदो रहेछ । उहाँले आफू र धेरैलाई जोगाउनुभएको छ, सबै यसैगरी जिम्मेवार हुने हो भने कोरोना नियन्त्रण गर्न सहज हुन्छ ।’

ती युवती कतार एयरको क्युआर ६५२ फ्लाइटमा दोहा हुँदै नेपाल आएकी थिइन् । उनलाई लिन बुबा विमानस्थल गएका थिए । विमानस्थलबाट आफ्नै निजी गाडीमा घरसम्म पुगेकी थिइन् । गाडीचालक, बुबा र युवतीले गाडीमा मास्क र स्यानिटाइजर प्रयोग गरेका थिए । उनी गाडीको पछिल्लो सिटमा अलगै बसेकी थिइन् । उनमा संक्रमणको लक्षण देखिएको थिएन, तर घरमा आएलगत्तै उनी सेल्फ क्वारेन्टाइनमा बसेकी थिइन् । परिवारका सदस्यसँग भेटघाट मात्रै बन्देज गरिनन्, शौचालयसमेत बेग्लै प्रयोग गरेको स्वास्थ्यकर्मीलई बताएकी छिन् ।

आफूसँगै फ्रान्सबाट फर्किएकी भियतनामकी साथीलाई संक्रमण देखिएपछि उनी स्वदेश आएको चार दिनपछि आफैँ परीक्षणका लागि टेकु अस्पताल गएकी थिइन् । रिपोर्ट पोजेटिभ आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । हाल टेकु अस्पतालमै उपचाररत युवतीको दोस्रो परीक्षण पनि पोजेटिभ देखिएको छ । तर, स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ । परिवारका सदस्यमा भने संक्रमण देखिएको छैन ।

‘उनका परिवारका व्यक्ति तथा चालक सबैको परीक्षण भइसकेको छ, कसैलाई संक्रमण देखिएको छैन,’ महाशाखाका प्रमुख डा. पाण्डेले भने । विमानमा उनको सिटआसपास बसेका १७ जनाको पनि परीक्षण भएको छ, रिपोर्ट नेगेटिभ आएको छ ।

युवतीमा संक्रमण पुष्टि भएपछि उनी र विदेशबाट आएका अन्यबाट काठमाडौंमा धेरैमा फैलिएको हुन सक्ने त्रासमा सरकार थियो । त्यसैले पनि ११ चैतदेखि सरकारले लकडाउन गरेको थियो । तर, युवतीले अपनाएको सावधानीका कारण काठमाडौंमा जोखिम केही हदसम्म कम भएको अनुमान गरेको छ । ‘उनले लापरबाही गरेको भए केही दिनमै काठमाडौंमा धेरैलाई संक्रमण फैलने जोखिम थियो,’ महाशाखाका एक अधिकारीले भने ।

ती युवतीसँगै विमानमा आएका बाग्लुङका दुईजनामा पनि संक्रमण पुष्टि भइसकेको छ । तर, विमानमा उनीहरू सँगै भने थिएनन् । बाग्लुङकी १९ वर्षीया युवती सिट नम्बर बी तथा ६५ वर्षीया महिला सिट नम्बर ईमा सँगै बसेका थिए । काठमाडौंकी युवती भने पछिल्लो सिटमा बसेकी थिइन् । बाग्लुङका दुई महिला बसेको सिटआसपासका १८ जनाको पनि परीक्षण भइसकेको छ ।

बाग्लुङका दुवै संक्रमित ४ चैतमा यती एयरलाइन्सबाट पोखरा गएका थिए । उनीहरूसँगै पोखरा गएकाहरूको समेत परीक्षण भइसकेको छ । त्यस्तै, विमानस्थलबाट बसपार्कसम्म ट्याक्सीमा तथा त्यहाँबाट बाग्लुङ स्कार्पियोमा सँगै गएका थिए । दुवैका परिवारको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । तर, उनीहरूले गाउँका अन्य व्यक्तिलाई पनि भेटेको भएकाले बाग्लुङमा फैलिएको आशंकामा र्‍यापिड टेस्ट सुरु गर्न लागिएको छ ।

तीनजना संक्रमित आएको कतार एयरको जोखिम लगभग सकिएको बताइएको छ । सो विमानमा एक सय ५८ यात्रु सवार थिए । जसमध्ये १० जना सम्पर्कमा आएका छैनन् । संक्रमित आसपास बसेकाहरूको रिपोर्ट नेगेटिभ आएकाले जोखिम कम भएको हो । नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले समाचार लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);