भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा स्वास्थ्य सेवा प्रभावकारी बनाउन सांसदहरूले गराए सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा स्वास्थ्य सेवा प्रभावकारी बनाउन सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं ।

प्रतिनिधि सभाका सांसदहरूले १० भदौमा रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा  परी बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको बिहीवारको बैठकको आकस्मिक समय लिएर बोल्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन्  बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले बाढीमा पनि आफ्ना आफन्तसमेत बेपत्ता भएको बताउँदै खोजी कार्यलाई तिब्र बनाउन सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सडक दुर्घटना न्युनिकरण र छाडा पशुचौपायाको व्यवस्थापनमा समेत सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।

रास्वपाकी सांसद ओजश्वी शेरचनले विपद्पछि प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रभावित भएकाले महामारी फैलिनुअघि नै अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न माग गर्नुभयो । उहाँले रसुवाको स्याफ्रुबेँसी, टिमुरे हेल्थ पोस्ट, टिमुरे हेल्थ डेस्क र मैलुङ स्वास्थ्य इकाई पूर्ण रूपमा ध्वस्त भएको उल्लेख गर्नुभयो । उहाँले बाढीले धादिङ र त्रिशूली अस्पतालसमेत प्रभावित भएको उल्लेख गर्दै महामारी फैलिनु अघि नै बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य परीक्षण र स्क्रिनिङको व्यवस्था गर्न माग गर्नुभयो ।रास्वपाका सांसद बुद्धिप्रसाद पन्तले आफ्नो निर्वाचन क्षेत्र र पर्साबाट समेत सयौँ नागरिक बेपत्ता भएको बताउँदै उद्धार कार्यमा स्रोतसाधन र जनशक्तिको अभाव देखिएको बताउनु भयो । उहाँले सम्पर्कविहीन नागरिकका परिवारजन सास वा लाशको आशामा आफन्तको प्रतीक्षा गरिरहेको बताउँदै उद्धार कार्यमा थप तदारुकता देखाउन सरकारसँग आग्रह गर्नुभयो ।

रास्वपाका सांसद बुद्धरत्न महर्जनले गोसाइँकुण्ड तीर्थयात्रामा गएका ललितपुरका नागरिक तथा देशभरका तीर्थयात्रीको यथाशिघ्र खोजी सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले चाडपर्व नजिकिँदै गर्र्दा आपूर्ति व्यवस्थापनमा समेत सरकार गम्भीर हुनुपर्ने बताउनु भयो । कुनै नाका बन्द भए वा चाप बढे बजारमा दैनिक उपभोग्य वस्तुको अभाव, कालोबजारी र मूल्यवृद्धि हुनसक्ने तर्फ सरकार सचेत हुनुपर्ने उहाँको भनाइ छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद बलवती शर्माले बाढीले नागरिक र भौतिक संरचनासँगै हजारौँ सपना बगाएको उल्लेख गर्दै राहत वितरण र उद्धार कार्यमा सरकार गम्भीर हुनुपर्ने बताउनु भयो । उहाँले बाढीमा परि बाग्लुङबाट समेत १६ जना सम्पर्कविहीन भएको जानकारी दिँदै रसुवा, नुवाकोट र धादिङको पीडा समग्र नेपाल र नेपालीको पीडा भएको बताउनु भयो । सांसद शर्माले सुरुङभित्र फसेका नागरिकको उद्धारका लागि आवश्यक मेसिन संसारभर नरहेको भन्ने प्रधानमन्त्रीको भनाइप्रति आपत्ति समेत जनाउनु भयो । अधिकांश सांसदहरुले बाढीपछिको विपद् प्रतिकार्यमा सरकारले गति बढाउनुपर्ने बताए । बाढीबाट सम्पर्कविच्छेद भएका राजमार्गको पुनर्निर्माण तथा वैकल्पिक मार्गको व्यवस्था तत्काल गर्न समेत सरकारको ध्यानाकर्षण गराए ।

Leave a Reply

ताजा समाचार