काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले रसुवाको भोटेकोशीमा आएको बाढीप्रभावित क्षेत्रमा खोज, उद्धार र राहत वितरणको गति बढाउन सरकारसँग माग गरेका छन् ।प्रतिनिधि सभाको बिहीवारको बैठकको आकस्मिक समयमा बोल्दै उनीहरुले यस्तो माग गरेका हुन् । बाढीमा परी सम्पर्कविहीन भएका नागरिकका आफन्तहरु अझैपनि आफन्त फर्किने आशामा बसिरहेको उनीहरुको भनाइ छ । सांसद मनमाया विश्वकर्माले विपद्को समयमा खोजी कार्यलाई अझ तिब्र बनाउन सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले अगामी दिनमा आउनसक्ने सम्भावित विपद्को पूर्वतयारीमा जुट्न समेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले विपद्को संकटलाई मध्यनजर गर्दै दीर्घकालीन रणनीति तयार गर्न समेत सरकारसँग माग गर्नुभयो ।सांसद सन्दीप रानाले रसुवाको भोटेकोशी बाढीमा परी लुम्बिनी प्रदेशका २ सय ५५ जना नागरिक अझै सम्पर्कविहीन रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारले विपद्पछि खोज तथा उद्धारमा तदारुकता देखाउन नसकेको भन्दै असन्तुष्टि समेत जनाउनुभयो । उहाँले राजनीतिक दल, नागरिक समाज र सबै पक्षलाई साथमा लिएर खोज, उद्धार र राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनु भयो । सांसदहरुले छिमेकी राष्ट्रबाट आवश्यकताअनुसार प्रविधि र जनशक्ति सहयोग मागेर भएपनि उद्धार कार्यलाई प्रभावकारी बनाउन माग गरेका छन् ।




