विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले रसुवा बाढीपछि सरकारले चालेका कदमहरूको समीक्षा गर्दै खोज, उद्धार र राहत कार्यमा सरकारको भुमिकाप्रति सन्तोष व्यक्त गरेको छ । मंगलवार सम्पन्न करिव तीन घण्टा लामो बैठकले विपद्को यस घडीमा तीनै तहका सरकारलाई साथ दिने निर्णयसमेत गरेको हो । बैठकमा सरकारका तर्फबाट सहभागी पार्टीका उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालसम्मको कार्यप्रगति र आगामी योजनाबारे जानकारी गराउनुभएको थियो । उहाँकाअनुसार सरकारले खोज, उद्धार र राहतलाई तीव्रता दिँदै अब पुनःस्थापनाको कार्यलाई अगाडि बढाउने तयारी गरेको छ । अर्थमन्त्री वाग्लेले सरकारी कोषमा हालसम्म करिब ८ अर्ब रुपैयाँ सहयोग संकलन भएको र त्यसमध्ये १ अर्ब रुपैयाँभन्दा बढी रकम विपद् व्यवस्थापन प्राधिकरणलाई पठाइएको जानकारी दिनुभयो । साथै, प्रभावित पालिकाहरूमा ६ करोड रुपैयाँभन्दा बढी रकम पठाइसकिएको पनि उहाँले स्पष्ट पार्नुभयो । रास्वपा सचिवालयले सीमित स्रोत–साधनका बाबजुद सरकारले खोज र उद्धारमा देखाएको तदारुकता र नेतृत्वदायी भूमिकाको सराहना गर्दै धन्यवाद ज्ञापन गरेको छ ।

पार्टीले राहत वितरणलाई अझै प्रभावकारी बनाउन र प्रभावित क्षेत्रमा राहत सामग्री छिटो पु¥याउन सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले हराइरहेकाहरूको खोजी कार्यलाई निरन्तरता दिन र उद्धार कार्यलाई थप व्यवस्थित बनाउनुपर्ने निष्कर्ष निकालेको छ । पार्टीका प्रवक्ता जगदीश खरेलकाअनुसार रास्वपाले दाताहरूबाट प्राप्त भएका राहत सामग्रीहरू सरकारी संकलन केन्द्रमार्फत नै वितरण गर्ने नीति लिएको छ । पार्टीले हालसम्म प्राप्त सहयोग सामग्रीहरू सरकारी संयन्त्रलाई हस्तान्तरण गरिरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने जानकारी दिइएको छ । बैठकमा पार्टी सभापति रवि लामिछानेले हालै सम्पन्न सर्वदलीय बैठकमा भएका छलफल र निष्कर्षबारे जानकारी गराउनुभएको थियो । सर्वदलीय बैठकमा व्यक्त राजनीतिक प्रतिवद्धताप्रति खुशी व्यक्त गर्दै सभापति लामिछानेले विपद् जोखिम न्युनिकरण र व्यवस्थापनका लागि दीर्घकालीन राष्ट्रिय सहमति आवश्यक रहेकोमा जोड दिनुभयो । उक्त प्रस्तावलाई पार्टी सचिवालयले समेत आत्मसात गर्दै विपद्को सामना गर्न राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिएको छ ।

Leave a Reply

ताजा समाचार