एजेन्सी, १२ फागुन । म्यानचेस्टर युनाइटेड ईग्लिस प्रिमियर लिग फुटबलको पाँचौं स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा वाट्फोर्डलाई ३–० गोल अन्तरले पराजित गर्दै युनाइटेड शीर्ष पाँचमा उक्लिएको हो ।
घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस, एन्थोनी मार्सियल र मासुन ग्रिनवुडले एक एक गोल गरे । ओल्ड ट्राफोर्डमा ४२ औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।
खेलको ५८ औं मिनेटमा मार्सियलले गोल गर्दा युनाइटेड २–० ले अघि रह्यो । त्यसपछि खेलको ७५ औं मिनेटमा ग्रिनवुडले गोल गर्दै युनाइटेडलाई ३–० को सहज जित दिलाए । जितसँगै युनाइटेडले २७ खेलबाट ४१ अंक जोडेको छ । रेलिगेसन क्षेत्रको वाट्फोर्डले २४ अंक जोडेको छ ।




