नेपाल पुलिस क्लब एमएम कपको फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

नेपाल पुलिस क्लब एमएम कपको फाइनलमा

MM Cup police

सुनसरी, २ माघ । नेपाल पुलिस क्लब सुनसरीमा जारी मनमोहन मेमोरियल एमएम कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । इनरुवा रंगशालामा बिहिबार भएको दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९९ रनले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो ।

पुलिसले दिएको २ सय ३० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिम ३३ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३० रनमा समेटियो । सुदूरपश्चिमका लागि किरण ठगुन्नाले सर्वाधिक ३९ रन बनाए । यस्तै आकाश चन्दले २३ रन जोड्दा खड्क बोहराले १४ रन बनाए ।

पुलिसका सागर ढकालले ५ तथा ललित राजवंशीले ३ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४९ ओभरमा अलआउट हुँदै २ सय २९ रन बनाएको थियो । पुलिसका दिपेन्द्र सिंह ऐरीले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै ललित भण्डारीले ४०, अनिल साहले ३१ र योगेन्द्र सिंह कार्कीले २९ रन बनाए ।

सुदूरपश्चिमका शेर मल्ल, आकाश चन्द र विनोद लामाले ३ –३ विकेट लिए । अब पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । आर्मी प्रदेश ३ लाई ६४ रनले पराजित गर्दै फाइनल पुगिसकेको छ ।

प्रतियोगिताको विजेताले ४ लाख ५ तथा उपविजेताले २ लाख ५ हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५५ हजार प्राप्त गर्नेछन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);