रुसको आणविक पनडुब्बी ‘पर्म’ प्रशान्त महासागरस्थित नौसैनिक बेडामा तैनाथ हुने | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८३, आइतबार

रुसको आणविक पनडुब्बी ‘पर्म’ प्रशान्त महासागरस्थित नौसैनिक बेडामा तैनाथ हुने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ आणविक शक्तिबाट सञ्चालित पनडुब्बी ‘पर्म’लाई रुसको प्रशान्त महासागरस्थित नौसैनिक बेडामा समावेश गरी सैन्य सेवामा खटाइने बताउनुभएको छ । रुसको उत्तरपश्चिमी क्षेत्रमा रहेको प्रमुख जहाज निर्माण केन्द्र सेभेरोद्भिन्स्कस्थित सेभमास सिपयार्डमा शुक्रवार आयोजित पनडुब्बीमा रुसी नौसेनाको झण्डा फहराउने समारोहमा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो । क्रेमलिनले जारी गरेको आधिकारिक विज्ञप्तिमा पुटिनको भनाइ उल्लेख गरिएको छ । पुटिनकाअनुसार ‘पर्म’ पछिल्लो छ वर्षमा रुसी नौसेनालाई हस्तान्तरण गरिएको यासेन–एम श्रेणीको पाँचौँ आणविक पनडुब्बी हो । उहाँले अत्याधुनिक आणविक पनडुब्बी निर्माण गर्न सक्ने क्षमता विश्वका सीमित मुलुकसँग मात्र रहेको उल्लेख गर्दै यस्ता पनडुब्बीलाई विश्वव्यापी रणनीतिक महत्त्वका हतियार प्रणालीका रूपमा व्याख्या गर्नुभयो । क्रेमलिनका अनुसार ‘पर्म’ चौथो पुस्ताको बहुउद्देश्यीय आणविक पनडुब्बी हो । यो रुसी नौसेनाको पहिलो यस्तो पनडुब्बी हो, जसमा हाइपरसोनिक क्रुज क्षेप्यास्त्र ‘जिरकोन’लाई नियमित हतियारका रूपमा जडान गरिएको छ । यासेन–एम श्रेणीका पनडुब्बी विश्वका विभिन्न समुद्री क्षेत्रमा गोप्य रूपमा सञ्चालन हुन सक्ने गरी निर्माण गरिएका हुन् । समारोहमा बोल्दै राष्ट्रपति पुटिनले सेभमास सिपयार्डमा विभिन्न प्रकारका आणविक पनडुब्बी निर्माणको काम योजनाअनुसार अघि बढिरहेको बताउनु भयो । सन् २०३० सम्ममा पाँचवटा क्षेप्यास्त्रवाहक पनडुब्बी रुसी नौसेनालाई हस्तान्तरण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । तीमध्ये तीनवटा यासेन–एम श्रेणीका हुनेछन् ।

Leave a Reply