काठमाडौं, ३० कात्तिक । राजधानीको नयाँ सडकको टेवहालस्थित सङ्कटा मन्दिरमा शनि दशा पन्छाउन विश्वासका साथ शनिबार लाग्ने भक्तजनको भीड कुनै बेला त व्यवस्थापन निकै न कठिन बन्दै गएको छ । मन्दिर परिसर हुँदै यो भीड पूरै उत्तर पश्चिम नयाँ सडक र दक्षिण सुन्धारासम्म फैलँदै गएर सुन्धारा क्षेत्र पनि ओगट्न थालेपछि शनिबारको भीड व्यस्थापन गर्न कठिन भएको हो । भक्तजनको यो भीडले यो क्षेत्रमा अन्य पैदल यात्रु र सवारी आवागममा पनि निकै असहज भएको छ ।
सङ्कटा क्लबका सक्रिय सदस्य पोषण राउतका अनुसार, प्रत्येक शनिबार भक्तजनको उपस्थिति बढ्दै गएको छ, क्लबले सहज दर्शनका लागि भरिसक्य व्यवस्थापन गरिरहेको छ । दुःख, पीडा, अभाव, समस्या, कष्टबाट छुट्कारा पाउन भक्तजन सङ्कटामा पूजाका लागि आउने गरेको राउत बताउनुहुन्छ । ज्योतिषी डा. सुनिल सिटौलाका अनुसार, शनिबार शनिग्रह पन्छाउने दिन भएकाले यो दिन सङ्कटाको पूजा अर्चना हुने गरेको हो ।
देवता र दानवको युद्ध हुँदा ब्रह्माजीले शनिको पूजा गर्नू भनी देवतालाई भनेकाले यस दिन सर्वसाधारणले पनि कष्ट र हैरानीबाट छुट्कारा पाउन शनिको पूजा गर्न थालेको बताइन्छ । सङ्कटा मन्दिरमा रहनुहुने ब्राह्मण दोलखा सिँगटीका देवानन्द भण्डारीले शनिको पूजाबाट लाभ हुँदै गएकाले नै भक्तजन बढेको दाबी गर्नुभयो तर पनि यसको वैज्ञानिक आधार भने उहाँले केही बताउनुभएन ।
यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।