वर्ष २०८२ साल नेपालको अर्थतन्त्रका लागि संक्रमणकालीन वर्ष रह्यो । बाह्य स्थायित्वले अर्थतन्त्रलाई टेको दिएको देखिन्छ, तर आन्तरिक सुधारको अभावले यसको सम्भावना सीमित बनाएको छ । तर वर्षको सुरुवातसँगै सरकारले अघि सारेको सुधार एजेन्डा, निजी क्षेत्रमैत्री नीतिले आगामी आर्थिक दिशा सही बाटोमा आउनसक्ने अपेक्षा भने गरिएको छ ।
वर्ष २०८२ ले नेपालको अर्थतन्त्रले एउटा विरोधाभासपूर्ण चित्र प्रस्तुत गरेको छ । यस वर्ष बाह्य क्षेत्र उल्लेखनीय रूपमा सुदृढ देखिएपनि आन्तरिक आर्थिक गतिशीलता कमजोर देखिएको छ । विप्रेषण, विदेशी मुद्रा सञ्चिति र कम मुद्रास्फीति जस्ता सूचकहरूले स्थायित्वको संकेत दिएका छन्, भने आर्थिक वृद्धिदर, लगानी र उत्पादन क्षेत्रमा देखिएको सुस्तताले संरचनागत कमजोरीलाई उजागर गरेको छ । एसियाली विकास बैंक र विश्व बैंकका प्रक्षेपणहरू नै यसको प्रारम्भिक संकेत हुन् ।
चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि २.३ देखि २.७ प्रतिशतको सीमित दायरामा रहने अनुमान गरिएको छ । जुन अघिल्लो वर्षको करिब ४.६ प्रतिशत वृद्धिदरको तुलनामा उल्लेख्य गिरावट हो । यसले अर्थतन्त्र पुनरुत्थानको चरणमा रहे पनि अपेक्षित गति समात्न नसकेको स्पष्ट देखाउँछ । यद्यपि, समग्र अर्थतन्त्रको तस्वीर पूर्णतः नकारात्मक भने छैन । उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति फागुनसम्म ३.६२ प्रतिशतमा सीमित रहनु उल्लेखनीय उपलब्धि हो । यो दर अघिल्लो वर्षको तुलनामा कम हो र यसले उपभोक्ताको क्रयशक्ति जोगाउन मद्दत गरेको छ । अझ महत्वपूर्ण कुरा, विदेशी मुद्रा सञ्चिति ३४ खर्बभन्दा माथि पुगेर १८.५ महिनाको आयात धान्न सक्ने अवस्थामा हुनु अर्थतन्त्रको बाह्य स्थायित्वको बलियो आधार हो ।
चालु खाता र शोधनान्तर दुबैमा उच्च बचत देखिनु पनि सकारात्मक संकेत हो । तर, यिनै सकारात्मक सूचकहरू अर्थतन्त्रको गहिरो संरचनागत समस्यालाई ढाक्न पर्याप्त भने छैनन् । नेपालको सन्दर्भमा विप्रेषणमा अत्यधिक निर्भरता, आयातमुखी संरचना र कमजोर निर्यात क्षमता दीर्घकालीन जोखिमका रूपमा उभिएका छन् । निर्यात २० प्रतिशतले बढे पनि आयातको आकार अत्यधिक ठूलो हुँदा व्यापार घाटा अझै चर्को छ । यसले उत्पादनशील क्षेत्र विस्तारमा नेपालको कमजोरीलाई पुनः पुष्टि गर्छ । त्यस्तै वित्तीय क्षेत्र पनि दोधारमा रहेको देखिन्छ । निक्षेप १५ प्रतिशतभन्दा बढीले बढ्दा पनि कर्जा विस्तार सुस्त हुनु, अन्तर बैंक कर्जा दर न्यून रहनु र ब्याजदर घट्दै जानु अर्थतन्त्रमा लगानीको माग कमजोर रहेको संकेत हो ।
२०८२ मा भएका राजनीतिक अस्थिरता, आन्दोलन र नीतिगत अनिश्चितताले निजी क्षेत्रको आत्मविश्वास कमजोर बनाएको छ । निजी लगानीको मनोविज्ञान नाजुक हुँदा बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि कर्जा विस्तार केवल ४–५ प्रतिशतको हाराहारीमा सीमित रहनु यही वास्तविकताको प्रतिफल हो । अर्कोतर्फ, पश्चिम एसियामा जारी द्वन्द्व र वैश्विक अनिश्चितताले विप्रेषणमा निर्भर अर्थतन्त्रलाई जोखिममा राखेको छ । यद्यपि हालसम्म विप्रेषण आप्रवाह ३७ प्रतिशतभन्दा बढीले बढ्नुले तत्काल संकट टरेको देखाउँछ । कृषि क्षेत्र, जुन अर्थतन्त्रको मेरुदण्ड मानिन्छ, यस वर्ष मौसमीय असन्तुलनका कारण प्रभावित भयो । ढिलो मनसुन, बाढी र केही क्षेत्रमा खडेरीले धान उत्पादन घटायो, जसले समग्र वृद्धि दरमा प्रत्यक्ष असर पारेको छ ।
औद्योगिक क्षेत्रमा पनि अपेक्षित सुधार देखिएन । तर नयाँ सरकारसँगै सरकारले अघि सारेको सुधार एजेन्डा, विशेषतः निजी क्षेत्रमैत्री नीति, स्वीकृति प्रक्रियाको सरलीकरण र पूर्वाधार विकासले आगामी आर्थिक दिशा सही बाटोमा आउनसक्ने आकलन भने गर्न सकिन्छ । नयाँ सरकारले भरोसा दिन सके निजी क्षेत्रमा उत्साह थप्नेछ । नयाँ वर्ष सँगै देशमा आन्तरिक र बाह्य लगानीको वातावरण तयार हुँदै जाओस । तथ्याङ्कमा देखिएको सुधारले मात्र सर्वसाधारणको दैनिकीमा सहज हुदैन्, महँगी नियन्त्रण र आयमा सुधारले मात्र सर्वसाधारणको भान्छामा खुसी छाउँने कुरा राज्यले बुझिदेओस् । पछ्यौरामा परेको प्वाललाई धागोले बाँध्दा पछ्यौरी नयाँ छ भन्ने हुँदैन । त्यसकारण आर्थिक गतिविधिमा बढवा दिई अर्थतन्त्र चलायमान बनाउनतर्फ राज्यले थप ध्यान देओस् ।
तस्बिर : एआई





