एजेन्सी, ६ कात्तिक । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बे्रक्जिट सम्बन्धी विधेयक तीन दिनभित्र समीक्षा गर्न राखेको प्रस्ताव सांसदहरुले अस्वीकार गरेका छन् ।
हाउस अफ् कमन्समा सांसदहरुले बे्रक्जिट सम्बन्धी विधेयक समीक्षाका लागि दिइएको ३ दिनको समय छोटो भएको भन्दै अस्वीकार गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
बे्रक्जिट सम्बन्धी विधेयक तीन दिनभित्र समीक्षा गर्न प्रधानमन्त्री जोनसनले राखेको प्रस्तावको पक्षमा ३ सय ८ र विपक्षमा ३ सय २२ मत परेको थियो । यसैबीच प्रधानमन्त्री जोन्सनले बे्रक्जिटको मामिलामा समय थप्ने पक्षमा आफु नरहेको स्पष्ट गरेका छन् ।
युरोपियन युनियनले बे्रक्जिटको म्याद थप गर्ने संकेत दिएपछि प्रधानमन्त्री जोनसनले समय थप्ने पक्षमा नरहेको स्पष्ट गरेका हुन् । युरोपियन आयोगका एकजना पदाधिकारीले भने प्रधानमन्त्री जोन्सनबाट म्याद थप्ने प्रस्ताव आएमा यूरोपियन यूनिएनको काउन्सिल बैठकमा छलफलका लागि लैजाने बताएका छन् ।
युरोपियन युनियनबाट बेलायत बाहिरिने ब्रेजिक्ट बिषयमा यस अघि प्रधानमन्त्री टेरेसा मे असफल भएपछि पदबाट राजीनामा दिनु परेको थियो । मेको राजीनामा पछि जोनसन प्रधानमन्त्री बनेका हुन ।