काठमाडौं, २८ असोज । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई म्याद थपका लागि प्रहरीले जिल्ला अदालत काठमाण्डौँमा पेश गरेको छ । असोज १९ गते पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले मंगलबार अदालतमा पेस गरेको हो ।
महरामाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको आरोप छ । राजधानीको नर्भिक अस्पतालमा उपचाररत महरालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले त्यहींबाट सुरुमा जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो । त्यसपछि सरकारी वकिलले प्रारम्भिक सोधपुछ गरेपछि अदालतमा पेश गरिएको हो ।




