अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई जोखिमपूर्ण मुलुकको सूचि (ग्रे लिष्ट)बाट हटाउनका लागि सरकारले दक्षताका साथ काम गरिरहेको बताउनुभएको छ ।
आईतवार प्रतिनिधि सभा बैठकमा सम्पती शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथिको सामान्य छलफलमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट पारित हुने वित्तिकै आफ्नो मुख्य काम नै यसको कार्यान्वयन रहेको पनि बताउनु भयो । उहाँले मुलुक ग्रे लिष्टमा अघिल्लो सरकारको पालामा परेको र वर्तमान सरकारले यसबाट निकाल्नका लागि इमान्दार र दक्षतापूर्वक काम गरिरहेको दाबी समेत गर्नुभयो ।
उहाँले भन्नुभयो,‘हाम्रा १५ वटा प्रमुख कार्यहरु छन् । यसमा ४ वटा वर्गीकरण छ । एडेस, लार्जली एडे«ेस, पार्टली एड्रेस र नट एड्रेस भनेर हामीले गर्नुपर्ने कामहरुको मूल्यांकन भइरहेको छ । हामी आएपछि तीन वटा कुरामा लार्जली एड्रेस छ । त्यसलाई अरु चार वटा कुरामा लार्जली एड्रेस गराउँदै छौ हामीले । र यो सूचि हेरेर, इन्डिकेटर हेरेर त्यो लिष्टबाट बाहिर निस्कनका लागि जे गर्नुपर्छ सुधारहरु । त्यो गर्ने भन्ने प्रतिवद्धता अर्थमन्त्रीको तर्फबाट, अर्थ मन्त्रालयको तर्फबाट र यो सम्पत्ति सुद्धिकरण सम्बन्धि एउटा ठूलो निर्देशक समिति नै छ । राज्यका सबै प्रमुख अंगहरु यसमा सम्मिलित छन । सबैलाई यो बजेट पास भइसकेपछि मेरो प्रदान जिम्मेवारी नै यो हुनेवाला छ कि यसलाई तत्काल तदारुकताका साथ कार्यान्वयनमा उत्रनेछौँ । र यो प्रगतिको चौमासिक मूल्यांकन हुने गर्दछ । त्यस्तो मूल्यांकनबाट ग्रे लिष्ट सम्बन्धि सबै कार्य सम्पन्न भएपछि मात्रै त्यो लिष्टबाट बाहिरिने व्यवस्था रहेको छ । अब यो नयाँ फेरी ग्रे लिष्टमा परिएछ भन्ने खालको त्यो भ्रामक समाचारहरु टेकेर केही माननीय सांसदज्युहरुले कुरा राख्नुभएको छ । यो ग्रे लिष्टमा फेरि परेको होइन । २०८१ मा पारिएका थियो मुलुकलाई । हामी निकाल्ने क्रममा छौँ । र त्यो निकाल्ने अवधि अझै बाँकि छ । त्यसलाई निकाल्नका लागि हामी इमान्दार र दक्षताका साथ काम गरिरहेका छौँ ।’
अर्थमन्त्री वाग्लेले सरकारले अर्थतन्त्रको सबै सूचकलाई हेरेर ग्रे लिष्टबाट निकाल्ने गरी कामको थालनी गरिसकेको पनि बताउनु भयो ।




